काठमाडौं । माइक्रोफाइनान्स कम्पनीहरुको सेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । पछिल्लो समय सेयर बजारले गतिलिएसँगै लगानीकर्ता माइक्रोफाइनान्सको सेयरमा झुम्मिएका हुन् ।
यसअघि होटल, बीमा कम्पनी, फाइनान्स कम्पनीहरुको सेयरमा झुम्मिएका लगानीकर्ता आज माइक्रोफाइनान्समा डाइभर्ट भएका हुन् ।
दिउँसो साढे १ बजेसम्म माइक्रोफाइनान्स समूहको उपसूचक करिब ९ प्रतिशतले बढेको छ भने ३ दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।अधिकांश लघुवित्तको सेयर बिक्रीमा राखिएको छैन भने माग उच्च रहेको छ । बिक्रीमा राखिएका कम्पनीको सेयरमा बिक्रेता र क्रेता बीच ठूलो बार्गेनिङ भइरहेको देखिन्छ ।
नेपाल राष्ट्र बैंकको कडाइ र लघुवित्त वित्तीय संस्थाहरुको वित्तीय अवस्था खस्किँदा लघुवित्तहरुको सेयर मूल्य निकै तल आएको थियो । अहिले बजारले गति लिँदै जाँदा लगानीकर्ता धमाधम लघुवित्तको सेयर उठाउन थालेका हुन् ।
पछिल्लो समय राष्ट्र बैंकले लघुवित्तको ऋण असुलीमा केही सहजता गरिदिएको छ । यसले चौथो त्रैमासमा वित्तीय विवरणमा समेत सुधार आउने लगानीकर्ताको अपेक्षा छ ।
सेयर बजारमा सूचीकृत १३ समूहमध्ये लघुवित्त हटकेकको रुपमा चिनिन्छ । अन्य क्षेत्रका कम्पनीको तुलनामा सेयर संख्या कम हुने र आकर्षक लाभांश समेत दिने भएकाले लघुवित्त लगानीकर्ताको रोजाइमा पर्ने गरेको छ । यद्यपि, गत वर्षको मुनाफाबाट लाभांश बाँड्न राष्ट्र बैंकले अंकुश नै लगाएको थियो । अधिकांश लघुवित्तले १५ प्रतिशतभन्दा बढी लाभांश बाँड्न दिएको थिएन ।