काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई ९ बुँदे स्पष्टीकरण सोधेको छ ।
सरकारको नीतिविपरीत चलेको भन्दै पर्यटनमन्त्री सुदन किँरातीले महानिर्देशक अधिकारीसँग स्पष्टीकरण मागेका हुन् । उनलाई ७ दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन भनिएको छ ।
मन्त्रालयले उनलाई नेपाल सरकारको उक्त नीतिविपरीत विभिन्न कार्यक्रममा अभिव्यक्ति दिने, उक्त नीतिविपरीत सञ्चार माध्यमहरूमा अन्तर्वार्ता तथा अभिव्यक्ति दिनेजस्ता कार्य गरेको भन्दै स्ष्पष्टीकरण मागेको हो ।
‘तपाईलाई नेपाल सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा १९ बमोजिम नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा नियुक्त गरेको र नेपाल सरकारका नीति, नियम, कार्यक्रमहरुको पालना गर्नु गराउनु तपाईंको कर्तव्य र जिम्मेवारी हो । आव २०७९/८० को संघीय संसदले पास गरेको बजेट तथा कार्यक्रमको बुँदा नं. १०१ मा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक निकायको रुपमा छुट्याउने भनी उल्लेख भएको छ, सोही बमोजिम प्रक्रिया अघि बढिरहेको अवस्थामा तपाइले नेपाल सरकारको उक्त नीति विपरित विभिन्न कार्यक्रममा अभिव्यक्ति दिने, उक्त नीतिको प्रतिकुल सञ्चार माध्यमहरुमा अन्तर्वातां तथा अभिव्यक्त दिने जस्ता कार्यहरु गरी नेपाल सरकारको नीतिको परिपालन नगर्ने र उल्टै त्यसलाई चुनौति दिने कार्यमा संलग्न रहेको पाइएको छ । तपाईंको उक्त कार्य नेपाल नागरिक उड्डयन प्राधिकरण, कर्मचारी सेवाका शर्त र सुविधा सम्बन्धि नियमावली २०५६ को नियम ११ २६ को प्रावधान विपरित रहेकोले के कति कारणले तपाइले आफ्नो पदीय जिम्मेवारी विपरित सरकारको नीति विरुद्धका कार्य गर्नुभएको हो ?,’ स्पष्टीकरणमा सोधिएको छ ।