काठमाडौं । साउदी अरबले ५४ नेपालीलाई बहिर्गमन (एक्जिट) भिसा दिएको छ । साउदी सरकारले अवैधानिक रुपमा काम गरिरहेका ५४ जना नेपालीलाई एक्जिट भिसा दिएको रियादस्थित नेपाली दूतावासले जनाएको छ।
ती नेपालीले रियाद र दमामबाट एक्जिट भिसाका लागि आवेदन दिएका थिए । साउदी सरकारले अकामा कार्ड नभई अवैधानिक रुपमा बस्दै आएका विदेशीले स्वदेश फर्कन चाहे सम्बन्धित देशको दूतावासमा दिएको आवेदनका आधारमा एक्जित भिसा दिने गरेको छ ।
साउदीबाट स्वदेश फर्कनका लागि रोजगारदाताको बहिर्गमन भिसा चाहिन्छ । साउदीमा बहिर्गमन भिसा हुने विदेश कामदार अवैध मानिन्छ ।
भिसा लागेकाहरू भिसा लागेको मितिले ६० दिनभित्र आफ्नै खर्चमा स्वदेश फर्किसक्नुपर्नेछ । साथै, विभिन्न व्यक्तिले झुटा विवरण दिई दूतावाससमक्ष बहिर्गमन भिसाका लागि आवेदन दिएकालाई कुनै समस्या आइपरे स्वयं जिम्मेवार हुनुपर्ने पनि दूतावासले प्रस्टयाएको छ ।
त्यसैगरी, जुन ठाउँबाट आफ्नो इकाममा बनेको हो त्यही ठाउँको श्रम कार्यालय र अध्यागमन कार्यालयमा मात्र एक्जिट भिसाको लागि प्रोसेसिङ गर्नुपर्ने साउदी नियम रहेको दूतावासले जनाएको छ ।
तसर्थ, एक्जिट भिसा प्रोसेसिङको लागि दूतावासमा आउनुभन्दा पहिले आफ्नो इकामा कहाँबाट बनेको हो अनिवार्य रूपमा यकिन गर्न पनि अनुरोध गरेको छ ।
रियादबाट इकामा बनेकाहरू मात्रै एक्जिट भिसा प्रोसेसिङको लागि दूतावासमा आउन र रियाद भन्दा बाहिरबाट इकामा बनेकाहरूले एक्जिट भिसा प्रोसेसिङका बारेमा फोनबाटै जानकारी लिन सकिने दूतावासले जनाएको छ । एक्जिट भिसा प्रोसेसिङका लागि मोबाइल नम्बर ०५०००२१४०९ वा ०५४७०४५२७२ मा सम्पर्क गर्न सकिनेछ ।