बैंकिङ प्रणालीमा कहिलेसम्म थुप्रिएला पैसा ?

काठमाडौं । आर्थिक वर्षको सुरूमा स्रोत अभावको सामना गरेको बैंकिङ प्रणालीमा अहिले अधिक तरलता छ । अर्थतन्त्रमा आएको संकुचनका कारण कर्जाको माग नहुँदा बैंक तथा वित्तीय संस्थामै पैसा थुप्रिएको हो ।

साथै, महँगो ब्याजदरका कारण पनि कर्जाको माग बढ्न नसकेको हो । अहिले बैंकहरूमा ३ खर्ब बढी लगानी योग्य रकम रहेको बैंकरहरू बताउँछन् । नेपाल राष्ट्र बैंककै तथंकले पनि बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको देखाउँछ । अहिले समग्र बैंकिङ प्रणालीको कर्जा निक्षेप अनुपात ८४ प्रतिशतभन्दा तल झरेको छ । जबकि राष्ट्र बैंकले यस्तो सीमा ९० प्रतिशत तोकेको छ ।

प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बिहीबार मात्र रिभर्स रिपोमार्फ १० अर्ब खिचेको छ । विगतमा लगानी गर्ने पैसा नभएर तनावमा हुने बैंकहरू अहिले कर्जा लगानी गर्न नसकेर तनावमा छन् । यद्यपि, अहिले बैंकहरू कर्जा लगानीभन्दा पनि असुलीमा केन्द्रित भएका छन् ।

विगतका वर्षको ट्रेन्ड हेर्दा पनि असारमा अरु महिनाभन्दा तरलता प्रशस्त हुने गरेको छ । बैंकर्स संघका एक कार्यकारी सदस्य कर्जाको माग नहुँदा प्रणालीमा स्रोत अधिक भएको बताउँछन् ।

‘सिष्टममा तरलता बढ्नुको मुख्य कारण कर्जाको माग नहुनु हो,’ उनले भने, ‘बैंकहरू पनि अहिले लगानीभन्दा रिकभरीमै फोकस छन् । अर्थतन्त्रमा देखिएका विभिन्न समस्याले गर्दा तत्काल माग बढ्ने पनि देखिँदैन ।’

पूर्व बैंकर परशुराम कुँवर क्षेत्री बैंकिङ प्रणालीमा प्रशस्त तरलता हुँदा विकास ऋण पत्रको ब्याजदर पछिल्लो डेढ वर्षयताकै न्यून अंकमा आएको बताउँछन् । ‘बैंक तथा वित्तीय संस्थामा तरलताको स्थिति एकदमै सहज छ । सीडी रेसीयोले नै त्यो देखाउँछ । बैंकदर डेढ वर्षयताकै न्युने छ । अरु ब्याजदर पनि क्रमश घट्दै गइरहेको छ,’ उनले भने ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार मंगलबारसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप-कर्जाको अनुपात (सीडी रेसीयो) ८३.९९ प्रतिशतमा छ ।
यो भनेको बैंकहरूसँग साढे तीन खर्ब रुपैयाँ कर्जा लगानी गर्नसक्ने रकम छ । राष्ट्र बैंकको व्यवस्था अनुसार बैंकहरूले ९० प्रतिशत सीडी अनुपातसम्म कर्जा लगानी गर्न पाउँछन् ।

चालु आर्थिक वर्षको गत सोमबारसम्म बैंक तथा वित्तीय संस्थाहरूले कुल १ खर्ब ४२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जबकि यसअवधिमा निक्षेप संकलन भने ४ खर्ब ८ अर्ब रुपैयाँले वृद्धि गरेका छन् ।

अहिलेको तरलता कति दिगो ?

वर्षको ६ महिना तरलता अधिक हुने र त्यसपछि लगानीका लागि स्रोत नहुने नेपालको बैंकिङ प्रणालीको प्रवृत्ति छ । गत आवमा बैंकहरूले दुई त्रैमाससम्म निरन्तर कर्जा लगानी गरे भने त्यसपछि चालु वर्षको ६ महिनासम्म हात बाँधेर बसे ।

अहिले कायम भएको तरलता पनि लामो समयसम्म रहनेमा आशंका छ । बैंकिङ क्षेत्रका जानकार अनलराज भट्टराई आर्थिक गतिविधि तुरुन्तै चलायमान भएर कर्जाको माग बढ्ने अवस्था नदेखिएकाले अहिले प्रणालीमा रहेको तरलता लामो समय रहन सक्ने बताउँछन् ।

‘अहिलेको हिसाबले तरलताको यो स्थिति लामै रहने देखिन्छ । किनभने व्यापारिक, औद्यौगिक क्षेत्रमा पनि ऋण लिएर व्यापार÷व्यवसाय बढाउने स्थिति छैन । उपभोक्ताको पनि आम्दानी वृद्धि भएर खर्च गर्ने क्षमता तत्काल बढ्ने देखिँदैन,’ उनले भने ।

बैंकहरूलाई पुरानै कर्जा असुलिमा चाप परिरहेको अवस्थामा नियामकीय कडाइका कारण कर्जा बढाउन सक्ने अवस्थामा बैंक तथा वित्तीय संस्था नरहेको उनले बताए ।

घट्दै ब्याजदर 

लगानीयोग्य रकम पर्याप्त हुँदा बैंकको ब्याजदर पनि ओरालो लागेको छ । आवको सुरूमा १८ प्रतिशतसम्म पुगेको कर्जाको ब्याजदर असारमा औषतमा १२.६५प्रतिशत पुगेको छ ।

अन्तर बैंकदर त्यत्तिबेला ८ प्रतिशतमाथि हुँदा हाल ४ प्रतिशत कायम भएको राष्ट्र बैंकको तथ्यांक छ । अन्य बैंकदरहरू ओरालो लाग्नेक्रममा छन् । ब्याजदर घटे पनि कर्जाको माग भने तत्काल नबढ्ने बैंकरहरू बताउँछन् ।

‘ब्याजदर घटे पनि कर्जाको माग बढ्ने देखिँदैन । किन भने कोभिडको बेला व्यापार व्यवसायमा डेब्ट इक्वीटी रेसियो मिलाएका थिएनन् । अहिले त्यो मिलाउनु पर्ने अवस्था भएकाले कर्जा लिने ठाउँ पनि छैन,’ भट्टराईले भने, ‘दुई वर्ष अघिको तुलनामा मूल्यवृद्धि निकै बढेको छ । माग बढ्न उत्पादन र उपभोग बढ्नुपर्छ । यहीमाथि राष्ट्र बैंकले नीतिगत व्यवस्थाले असर पारेको छ ।’ कर्जा लगानी अनुसार जीडीपी वृद्धि नभएकाले माग यसै घट्ने देखिएको उनले बताए ।

 

बजेट कार्यान्वयनको पूर्वतयारीमा जुट्यो अर्थ मन्त्रालय Read Previous

बजेट कार्यान्वयनको पूर्वतयारीमा जुट्यो अर्थ मन्त्रालय

पोखरामा ड्रागन ‘बोट’ रेस सुरू, ८ टोली प्रतिस्पर्धामा Read Next

पोखरामा ड्रागन ‘बोट’ रेस सुरू, ८ टोली प्रतिस्पर्धामा