सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग ९० करोड घाटामा

काठमाडौं । आर्थिक अभाव झेल्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० मा पनि रु ११ करोड १५ लाख घाटा व्यहोरेको छ । आव २०७४/७५ पछि उद्योगले निरन्तर घाटा व्यहोर्दै आएको हो ।

संस्थाका अनुसार उद्योग हालसम्म रु ९० करोडको घाटामा चलिरहेको छ । आव २०७४/७५ मा उद्योगले १ लाख ९ हजार ७९६ मेट्रिक टन सिमेन्ट उत्पादन गरेको थियो । यसमा १ लाख ६ हजार ३३२ मेट्रिक टन सिमेन्ट बिक्री गर्न सफल भएको थियो ।

साथै रु १ अर्ब ६८ करोड ३८ लाख ६४ हजार ९१७ आम्दानी गरेको  र रु १ अर्ब ५२ करोड २६ लाख १ हजार ४१८ खर्च भएको थियो । रु १६ करोड ३६ लाख ३ हजार ४९९ नाफा कमाएको थियो । यसपछि उद्योग निरन्तर घाटामा गएको तथ्याङ्क छ ।

आव २०७५/७६ मा उद्योगले १ लाख ९६९ मेट्रिक टन सिमेन्ट उत्पादन गरेकामा १ लाख ४  हजार ५९५ मेट्रिक टन सिमेन्ट बिक्री गरेको थियो । यसमा रु १ अर्ब ६४ करोड २० लाख १८ हजार ३१८ आम्दानी गरेकामा रु १ अर्ब ६५ करोड २५ लाख ५९ हजार ४५४ खर्च भई रु १ करोड ५ लाख ४१ हजार १३६ नोक्सानी व्यहोरेको थियो ।

त्यसपछि आव २०७६/७७ मा उद्योगले ८१ हजार ९८९ मेट्रिक टन सिमेन्ट उत्पादन गरेकामा ७२ हजार ७९५ मेट्रिक टन सिमेन्ट बिक्री गरेको थियो । यसमा रु १ अर्ब १ करोड ३ लाख ३ हजार ५४३ आम्दानी गरेकोमा रु १ अर्ब २४ करोड ८५ लाख २७ हजार ५५१ खर्च भई रु २३ करोड ८२ लाख २४ हजार उद्योगलाई घाटा भएको थियो ।

यस्तै आव २०७७/७८ मा उद्योगले ८९ हजार २२५ मेट्रिक टन सिमेन्ट उत्पादन गरेकामा ९२ हजार ६८८ मेट्रिक टन सिमेन्ट बिक्री गर्दा रु १ अर्ब २२ करोड ४८ लाख ४८ हजार ४३ आम्दानी गरेकामा १ अर्ब ३९ करोड ५२ लाख ८८ हजार ७११ खर्च रु १७ करोड ४ लाख ४० हजार ६६९ उद्योगलाई घाटा भएको थियो ।

यसैगरी, आव २०७८/७९ मा उद्योगले ८५ हजार २५६ मेट्रिक टन सिमेन्ट उत्पादन गरेकामा ८० हजार ६९८ मेट्रिक टन सिमेन्ट बिक्री गरेको थियो । यसमा रु १ अर्ब ४ करोड ३४ लाख ८६ हजार २९५ आम्दानी गरेकामा रु १ अर्ब २७ करोड ८९ लाख ९७ हजार २६४ खर्च भई रु २३ करोड रु ५५ लाख १० हजार ९६९ उद्योग घाटामा गएको थियो ।

यस्तै, आव २०७९/८० मा रु १ अर्ब २ करोड ३९ लाख ८४ हजार आठ४० आम्दानी गर्न सफल रहेको उद्योगले रु १ अर्ब १३ करोड ५५ लाख ४८ हजार २३५ खर्च गरेको थियो । यो आवमा उद्योगलाई रु ११ करोड १५ लाख ६३ हजार ३९५ घाटा भएको महाप्रबन्धक वसन्तराज पाण्डेले बताए।

उद्योगमा कच्चापदार्थको अभाव र पुरानो ऋण तिर्न नसक्दा बारम्बार बन्द हुँदै आएको छ । लामो समयदेखि निरन्तर घाटामा रहेको उद्योगको सिमेन्ट उत्पादनका लागि चाहिने कोइलाको अभावले उत्पादन कार्यमा समस्या आइरहेको छ ।

महाप्रबन्धक पाण्डे उद्योगलाई गतिशील बनाउन आफूले योजना उद्योग मन्त्रालयमा प्रस्तुत गरे पनि कुनै जवाफ नआएका कारण अगाडि बढ्न कठिन भएको बताउँछन् । उनका अनुसार उद्योगमा ३८ वर्ष पुरानो प्रविधि, उपकरण, बजारको अभाव, मूल्य समायोजन, प्रतिस्पर्धात्मक बजार लगायतका समस्या छन् ।

उद्योगले १ महिनापछि यही सोमबारदेखि पुनः क्लिङ्कर उत्पादन सुरु गरेको छ । अब ३ महिनाका लागि उद्योगमा कच्चापदार्थ तयारी रहेको बताउँदै ३ महिनाको उत्पादनले उद्योग बन्द भएको बेला धान्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

महाप्रबन्धक पाण्डेका अनुसार अहिले दैनिक १५ हजार बोरा सिमेन्ट उद्योगबाट उत्पादन तथा बिक्री भइरहेको र उद्योगमा ३० हजार मेट्रिक टन सिमेन्ट भण्डारण रहेको छ । उद्योगमा पहिलेदेखिकै ३० करोडभन्दा बढी कोइला खरिद तथा कर्मचारी निवृत्तिभरण बापतको ऋण भएकाले त्यसलाई घटाउँदै उद्योगलाई समायोजन गर्नतर्फ आफू लागिपरेको उनले बताए।

पछिल्लो समय बजारमा आएको आर्थिक मन्दीले सिमेन्टको बिक्रीसमेत घट्दा उद्योगले निरन्तर घाटा बेहोरिरहेको उनले बताए । उद्योगमा हाल २ सयजना कर्मचारी कार्यरत छन् भने दैनिक ज्यालादारीमाकामदार रहेका छन् । उद्योगका भैँसे, ओख्रे, मजुवा र जोगिमारामा खानी रहेका छन् ।

कम्पनी ऐनअन्तर्गत २०३३ असोज १३ मा स्थापित भएको यस उद्योगले २०४२ सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो । उद्योगको वार्षिक उत्पादन क्षमता २ लाख २५ हजार मेट्रिक टन रहेको छ । रासस

कतार र चीन बीच २७ वर्षे ग्यास आपूर्ति सम्झौता, चीनले वार्षिक ४० लाख टन लैजाने Read Previous

कतार र चीन बीच २७ वर्षे ग्यास आपूर्ति सम्झौता, चीनले वार्षिक ४० लाख टन लैजाने

२ महिनादेखि बन्द हेटौंडा सिमेन्ट उद्योगमा पुनः उत्पादन सुरू Read Next

२ महिनादेखि बन्द हेटौंडा सिमेन्ट उद्योगमा पुनः उत्पादन सुरू