कर्जा रिकभरी नहुँदा ‘तनाव’मा बैंकर, भन्छन्-‘ऋण उठ्नै छाड्यो’

काठमाडौं । अर्थतन्त्रमा देखिएको सिथिलताको असर बैंक तथा वित्तीय संस्थाको कर्जा रिकभरीमा देखिएको छ । आर्थिक गतिविधिमा आएको संकुचनका कारण ऋणीको ऋण तिर्ने क्षमतामा ह्रास बैंकको कर्जा रिकभरीमा समस्या आएको हो ।

ऋण लगानीबाट न्यून प्रतिफल र आम्दानीमा गिरावट आएका कारण कर्जाको करार अवधि पूरा हुँदा समेत ऋणीहरूले बैंकको पैसा चुक्ता गर्न सकिरहेका छैनन् ।

अर्कोतिर आर्थिक वर्षको अन्तिम महिना भएकाले बैंकहरू अहिले ऋण असुल गर्ने चटारोमा छन् । अर्थतन्त्रको बाह्य चाप कम गर्न सरकार र नेपाल राष्ट्र बैंकले चालु वर्षमा लिएको नीतिगत कडाइका कारण आन्तरिक अर्थतन्त्र तंग्रिन सकेको छैन ।

यस वर्ष उत्पादन क्षेत्रकै वृद्धिदर नकारात्मक हुने प्रक्षेपण तथ्यांक कार्यालयले गरेको छ । यसैगरी, अर्थतन्त्रका अन्य क्षेत्रको आर्थिक वृद्धि समेत खम्चिने अनुमान छ । उत्पादन र मागमा आएको असन्तुलनको वित्तीय क्षेत्रमा समेत प्रभाव देखिएको छ । बैंकहरूको कर्जा लगानीमा पछिल्लो एक दशक यताकै सुस्तता आएको छ ।

सुरुमा तरलता अभाव र त्यसपछि माग नहुँदा बैंकहरूले एकातिर लगानी बढाउन सकेका छैनन् भने अर्कोतिर लगानी गरेको ऋण समेत उठ्न छाडेको बैंकर बताउँछन् ।

‘यो वर्ष कर्जा रिकभरीको चाप निकै परेको छ । त्यसको दबाबमा वाणिज्य बैंक नै छन भने अन्य वित्तीय संस्थाहरू नहुने कुरै भएन,’ एक वाणिज्य बैंकका कर्जा डिपार्टमेन्ट प्रमुख भन्छन्, ‘लगानीको कुरा छोडौं अहिले ऋण उठ्नै छोडेको छ । रिकभर नहुँदा प्रोभिजनिङ त्यत्ति नै बढेको छ । यो इकनोमी रिफ्लेक्सन नै हो ।’ कर्जा लगानी र असुलमा समस्या आएका कारण यस वर्ष बैंकहरूको नाफामा ठूलो गिरावट आउने उनको भनाइ छ ।

यस्तै, नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष तथा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना आर्थिक गतिविधि संकुचनका कारण अधिकांश बैंकको वितरणयोग्य नाफा ऋणात्मक हुने बताउँछन् ।

‘विशेषगरी यो वर्ष आर्थिक गतिविधिमा आएको संकुचनले धेरै बैंकहरूको वितरणयोग्य नाफा ऋणात्मक हुने देखिएको छ,’ उनले भने, ‘गत चैतकै तथ्यांक हेर्दा पनि करिब दर्जन बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ । यो अझै बढ्दै जाने देखिन्छ ।’ अब आर्थिक वर्षको अन्तिम महिना असार सुरू भएकाले कर्जा लगानीभन्दा रिकभरीमै बैंकको ध्यान जाने उनले बताए ।

यस वर्ष अर्थतन्त्रमा देखिएको समस्याले बैंकले कर्जा प्रवाहमात्र नभएर सहज रुपमा रिकभर पनि गर्न सकेका छैनन् । समयमै ऋणीले रकम चुक्ता गर्न नसक्दा बैंकको खराब कर्जा दोब्बरले बढेको छ भने नाफामा पनि गिरावट आएको छ । गत वर्ष ६ महिनामै लक्ष्यको ६० प्रतिशत कर्जा लगानी गरेका बैंक तथा वित्तीय संस्थाहरू यस वर्ष भने हात बाँधेर बसिरहेका छन् ।

अहिले संस्थाहरूको सीडी रेसियो ८३ प्रतिशतमा झरेको छ । अहिले बैंकिङ प्रणालीमा झन्डै ३ खर्ब लगानीयोग्य रकम रहेको छ । एकातिर पैसा भए पनि कर्जा लगानी हुन सकेको छैन भने अर्कोतर्फ लगानी भएको कर्जा असुल हुन नसक्दा बैंकरहरु दोहोरो तनावमा परेका छन् ।

आगामी दिनमा अधिकांश बैंकको वासलता नकारात्मक हुने बैंकरले बताइरहेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु वर्षको वैशाख मसान्तसम्म वाणिज्य बैंकको खराब औषतमा कर्जा ३.२३ प्रतिशत पुगेको छ । जबकि अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकको औषतमा खराब कर्जा १.३२ प्र्रतिशत पुगेको थियो ।

विकास बैंक, फाइनान्स र माइक्र्रोफाइनान्स कम्पनीहरूको पनि खराब कर्जा निकै चुलिएको छ । वैशाखसम्म विकास बैंकको खराब कर्जा ३.४० र माइक्रोफाइनान्स कम्पनीको ८.१९ प्रतिशत पुगेको राष्ट्र्र बैंकको तथ्यांक छ ।

यस वर्षकै तेस्रो त्रैमाससम्म अधिकांश माइक्रोफाइनान्स घाटामा थिए भने उनीहरूको खराब कर्जाले सीमा नाघेको तथ्याांकले देखाउँछ । वित्तीय प्रणालीमा खराब कर्जाको हिस्सा जति न्यून छ, त्यत्रि नै बलियो र संस्था सबल मानिन्छ । ५ प्रतिशतभन्दा बढी संस्थाहरूको खराब कर्जा पुगे बैंकहरूको जेखिमभार उत्तिकै बढ्छ भने अकर्कोतिर लगानी नै कर्जा सुरक्षण वापत कोषमा राखनुपर्ने व्यवस्था छ ।

वित्तीय क्षेत्रका जानकारहरू भने नेपालको खराब कर्जाको अवस्था दक्षिण एशियामै राम्रो भए पनि पछिल्लो समय अप्र्रत्यासित रुपमा बढ्दै गएको बताउँछन् ।

 

पोखरा विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय उडान हुँदै Read Previous

पोखरा विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय उडान हुँदै

नारायणगढ-मुग्लिन सडकको दूरी १०० मिटर छोटियो, सेती दोभान पुल सञ्चालनमा Read Next

नारायणगढ-मुग्लिन सडकको दूरी १०० मिटर छोटियो, सेती दोभान पुल सञ्चालनमा