काठमाडौं। घोराही सिमेन्ट्र इण्डष्ट्रिजको प्रिमियम मूल्यमा प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन प्रक्रिया स्थगित भएको छ । नेपाल धितोपत्र बोर्डले घोराहीको आइपीओ प्रक्रिया स्थगन गर्न निर्देशन दिएको हो ।
कम्पनीको आइपीओमा झन्डै आधा फर्जी आवेदन परेपछि आइपीओ प्रक्रिया नै स्थगन गरिएको जनाइएको छ । सोमबार दिउँसो ३ बजेसम्म कम्पनीको २ करोड ३३ लाख कित्ता बढीका लागि आवेदन परेको छ । तर, सोमध्ये १ करोड बढी कित्ताका लागि फर्जी आवेदन परेको सीडीएस एण्ड क्लियरिङ स्रोतले जनाएको छ ।
यसरी ठूलो मात्रमा फर्जी आवेदन परेपछि लगानीकर्ताको हित र सुरक्षालाई मध्येनजर गर्दै हाललाई उक्त कम्पनीको सेयर निष्कासन सम्बन्धी सम्पूर्ण काम रोक्ने निर्णय भएको बोर्डले जनाएको छ ।
कम्पनीले जेठ ३२ गतेदेखि प्रतिकित्ता ४३५ रुपैयाँ (अंकित मूल्य १०० मा ३३५ रुपैयाँ प्रिमियम थपेर) दरले ६९ लाख ११ हजार ६७० कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।
तोकिएको समयमै मागभन्दा करिब ३ गुणा आवेदन परे पनि कम्पनीले आवेदन दिने म्याद १४ गतेसम्म थपेको थियो । माग बढी आवेदन पर्दा पनि म्याद थपेपछि कम्पनीको आइपीओ प्रति शंका उब्जेको छ ।
यसअघि कम्पनीको रेटिङमा समेत प्रश्न उठेको थियो । फर्जी आवेदन र रेटिङको बारेमा जाँचबुझ गर्न आइपीओ निष्काशन प्रक्रिया रोकिएको बोर्डले जनाएको छ ।
