काठमाडौं । चालु आर्थिक वर्षको दश महिना(साउन—वैशाख)मा वाणिज्य बैंकहरूले आधा खर्ब बढी खुद नाफा कमाएका छन् ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार वैशाखसम्म २१ वटा वाणिज्य बैंकहरूले कुल ५७ अर्ब १७ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।
पछिल्लो एक महिनामा मात्रै वाणिज्य बैंकहरूले ८ अर्ब ४५ करोड रुपैयाँ नाफा कमाएका छन् । चैतसम्म वाणिज्य बैंकहरूले कुल ४८ अर्ब ७० करोड नाफा कमाएको राष्ट्र बैंकले जनाएको छ ।
अर्थतन्त्रमा देखिएको सिथिलता र कर्जा लगानीको सुस्तताका बाबजुत बैंकहरूको खुदनाफामा भने त्यत्ति धेरै असर देखिँदैन । यद्यपि, खराब कर्जा एक वर्षमा दोब्बरले बढेको छ भने ऋण अशुलीमा समस्या आएको बैंकरहरू बताउँछन् ।
आर्थिक वर्षको सुरुमा प्रणालीमा भएको तरलता संकट र त्यसपछि कर्जाको माग नहुँदा बैंकहरूले यस वर्ष लगानी गर्न सकेका छैनन् । यसका बाबजुत खुद नाफामा भने बैंकहरू बीच प्रतिस्पर्धा देखिएको छ ।
गत चैतकै तथ्यांक अनुसार आधा दर्जन बैंकको वितरणयोग्य नाफामा व्यापक गिरावट आएको थियो भने यो आव सकिने बेलासम्म एक दर्जन बढी बैंकहरूको वितरणयोग्य नाफा घट्ने बैंकरहरूको आकलन छ ।
नबिल एक्लैले कमायो ६ अर्ब
वाणिज्य बैंकहरू मध्ये वित्तीय सूचकमा अब्बल देखिएको नबिल बैंक एक्लैले वैशाखसम्म ६ अर्ब १ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

पूँजी कोष र चुक्ता पूँजीको आधारमा ग्लोबल आइएमई, इन्भेष्टमेन्ट मेगाा बैंक अघि भए पनि व्यवसायिक प्रतिस्पर्धामा भने नबिल नै अघि देखिएको छ । दुई वर्षअघि नेपाल बंगलादेश बैंक गाभेर बलियो सिनर्जी प्राप्त गरेको नबिल अन्य सूचकहरूमा पनि बलियो देखिएको छ ।
चुक्ता पूँजीको आधारमा सबैभन्दा ठूलो भए पनि ग्लोबल आइएमई बैंकले ५ अर्ब ३ करोड रुपैयाँ खुद नाफा कमाएर दोस्रो स्थानमा छ । यस बैंकलाई एनआइसी र सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले टक्कर दिएका छन् ।
तेस्रोमा एनआइसी एसीयाले ४ खर्ब ३ करोड रुपैयाँ नाफा आर्जन गर्दा आरबीबीले ४ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ । पूँजी कोष र चुक्ता पूँजीको आधारमा कमजोर भए पनि यस वर्षको दश महिनामा खुद नाफा आर्जनमा एनआइसीले अब्बल साबित गरेको छ ।
यस अवधिमा मेगा र इ्रन्भेष्टमेन्ट बैंक बीच मर्जर भएर बनेको इन्भेष्टमेन्ट मेगाा बैंकले ३ अर्ब ८ करोड रुपैयाँ नाफा कमाएको छ । एनएमबी बैंकले २ अर्ब आर्जन गरेको छ भने सबैभन्दा कम कृषि विकास बैंकले १ अर्ब २ करोड रुपैयाँ आर्जन गरेको छ ।
प्राइम, स्ट्यान्डर्ड चार्टर्ड, एभरेष्ट, नेपाल, हिमालयन र एसबीआई बैंकले २/२ अर्ब रुपैयाँ बढी नाफा कमाएका छन् । यसैगरी, सानीमा, कुमारी, सिद्धार्थ, माछापुच्छ्रे, लक्ष्मी, सिटिजन र सनराइज बैंकले १ /१ अर्ब रुपैयाँ बढी नाफा आर्जन गरेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।