नागढुंगा-नौबिसे सुरुङ खन्ने काम ८६ प्रतिशत सकियो, कहिले हुन्छ ‘ब्रेक थ्रु’ ?

निर्माणधीन नागढुंगा-नौबिसे सुरुङमार्ग ।

काठमाडौं । राष्ट्रिय गौरव आयोजना नागढुंगा-नौबिसे सुरुङमार्ग अन्तर्गत सुरुङ खन्ने काम झन्डै ८६ प्रतिशत सकिएको छ ।

नागढुंगा नौबिसे सुरुङमार्ग आयोजनाका अनुसार असार ३ गतेसम्म सुरुङ खन्ने काम ८५.७० प्रतिशत सम्पन्न भएको हो । यद्यपि, समग्रमा आयोजनाको ५५.१३ प्रतिशत मात्रै सम्पन्न भएको छ ।

आयोजनाका प्रवक्ता तथा इन्जिनीयर रमेश कोइरालाका अनुसार प्रवक्ता कुल ५ हजार ४९९ मिटर सुरुङमार्ग (वर्किङ अडिट र क्रस प्यासेजसहित) रहेकोमा हालसम्म कुल ४ हजार ७१२.७० मिटर निर्माण सम्पन्न भएको हो ।

हालसम्म मुख्य सुरुङ अन्तर्गत २ हजार ६८८ मिटर मुख्य मध्ये हालसम्म २ हजार २७१ मिटर खनिसकिएको छ । आयोजनाको काठमाडौंतर्फ ९३७.८० मिटर र धादिङतर्फ ११३३.२० मिटर मुख्य टनेल खनिएको उनले जानकारी दिए ।

त्यसैगरी, २ हजार ५५७ मिटर आपतकालीन (स्केप टनेल) सुरुङ खन्नुपर्नेमा हालसम्म २ हजार ४०४.८० मिटर सुरुङ खनिसकिएको छ । काठमाडौंतर्फ १२६६.७० मिटर र धादिङतर्फ ११३८.१० मिटर सुरुङ खन्ने काम पूरा भएको छ ।

हालसम्म कुल ४ हजार ४७५.८ मिटर सुरुङमार्ग, १२६ मिटर वर्किङ अडिट र ११०.९० क्रस प्यासेज गरी कुल ४ हजार ७१२.७० मिटरको काम सम्पन्न भएको छ ।

त्यस्तै, धादिङतर्फ १२६ मिटर वर्किङ अडिट निर्माण भएको छ । त्यसैगरी, कुल ११०.९० मिटर क्रस प्यासेज निर्माण भएको छ । जसमा काठमाडौंतर्फ ५५.४५ मिटर र धादिङतर्फ ५५.४५ मिटर निर्माण गरिएको छ ।

हालसम्म समग्रमा ५५.१३६ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । त्यस्तै, वित्तीयतर्फ ५८.७० प्रतिशत प्रगति भएको छ ।

आपतकालीन सुरुङ साउनसम्म ‘ब्रेक थ्रु’ हुने

प्रवक्ता कोइरालाका अनुसार आपतकालीन सुरुङमार्ग साउनभित्रै ब्रेक थ्रु हुनेछ । कुल २५५७ मिटर आपतकालीन सुरुङ खन्नुपर्नेमा अब १५२.२ मिटर मात्र खन्न बाँकी रहेको उनले बताए ।

मुख्य सुरुङ भने कात्तिकसम्म ब्रेक थ्रु हुने लक्ष्य राखिएको उनले बताए । ‘अहिले धमाधम सुरुङ खन्ने काम भइरहेको छ । आपतकालीन सुरुङ जुलाई अन्तिसम्म ब्रेक थ्रु हुन्छ,’ उनले चाणक्य पोष्टसँग भने, ‘मुख्य सुरुङ दशैं तिहारसम्म ब्रेक थ्रु गर्ने लक्ष्य राखेका छौं ।’

उनले अहिले सुरुङको फिनसिङ पनि सँगसँगै भइरहेको बताए । मुख्य सुरुङमा फिनसिनको काम ३५.९० प्रतिशत सकिएको उनले जानकारी दिए ।

यस्तै, आयोजना अन्तर्गत ३ वटा अण्डर पास, ४ वटा कल्भर्ट, ३ वटा पुल र एउटा ओभरपास निर्माण सम्पन्न भइसकेको छ भने फ्लाइओभर निर्माणको काम भइरहेको प्रवक्ता कोइरालाले बताए ।

नेपालकै पहिलो सुरुङमार्गको रूपमा रहेको यस आयोजनाको काठमाडौंतिरको पोर्टल चन्द्रागिरी नगरपालिका–१ को टुटीपाखामा रहेको छ भने धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा छ । टनेलमा मुख्य दुई वटा लेन हुनेछ । बीचमा थप एउटा सानो साइड लेन छ । सवारी साधन बिग्रिए साइड लगाउन उक्त लेन प्रयोग हुनेछ ।

नेप्सेमा थप ३ लघुवित्तको बोनस सेयर सूचीकृत Read Previous

नेप्सेमा थप ३ लघुवित्तको बोनस सेयर सूचीकृत

क्रसर उद्योग नवीकरण सहज बनाउन व्यवसायीको माग Read Next

क्रसर उद्योग नवीकरण सहज बनाउन व्यवसायीको माग