काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँको बजेट ल्याएको छ ।
शुक्रबार बागमती प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बहादुर सिंह लामा (तामाङ)ले प्रदेश सभामा उक्त बजेट पेश गरेका हुन् ।
कुल विनियोजित बजेटमध्ये चालु तर्फ २६ अर्ब ७० करोड २७ लाख ६९ हजार रुपैयाँ (४२.५८ प्रतिशत), पूँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख ९ हजार रुपैयाँ (५६.६२ प्रतिशत) र वित्तीय लव्यवस्थातर्फ ५० करोड (०.८ प्रतिशत) छुट्याइएको छ ।
आम्दानीको स्रोततर्फ कर राजस्वबाट २५ अर्ब १७ करोड २६ लाख, अन्य राजस्वबाट ५ अर्ब २६ करोड ९४ लाख, संघीय वित्तीय हस्तान्तरणबाट १७ अर्ब ८१ करोड २३ लाख र आचु वर्षको संचित कोष तथा अन्य प्राप्तिबाट १४ अर्ब ४५ करोड ४७ लाख व्यहोरिने बजेटमा उल्लेख छ ।