काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार रुपैयाँको बजेट ल्याएको छ ।
शुक्रबार आर्थिक मामिलामन्त्री वेदराज सिंहले प्रदेशसभाको बैठकमा उक्त आकारको आगामी वर्षको बजेट पेश गरेका हुन् । मन्त्री सिंहका अनुसार चालुतर्फ ९ अर्ब २० लाख २४ हजार (२६.९७ प्रतिशत) बजेट विनियोजन गरिएको छ ।
त्यस्तै, पूँजीगततर्फ १९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार (५८.६५ प्रतिशत) र वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ८० करोड ४ लाख ४० हजार (१४.३८ प्रतिशत) बजेट छुट्याइएको छ ।
बजेटको स्रोतमा संघीय सरकारबाट राजस्व बाँडफाँटबाट प्राप्त हुने ८ अर्ब ८४ करोड ३ लाख, वित्तीय समानीकरण अनुदानबाट १० अर्ब १६ करोड ४१ लाख र सशर्त अनुदानबाट ४ अर्ब ७५ करोड ३ लाख, समपुरक अनुदान ७६ करोड १६ लाख र विशेष अनुदान ५९ करोड ७९ लाख प्राप्त हुने बजेटमा उल्लेख छ ।
त्यसैगरी, आन्तरिक राजस्वबाट ८३ करोड ६२ लाख १२ हजार उठाइने, चालु आवमा खर्च हुन नसक्ने ७ अर्ब ४१ करोड ६ लाख ५ हजार, वैदेशिक सहायतबाट १ करोड ८६ लाख ९० हजार प्राप्त हुने मन्त्री सिंहले बताए ।