काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको छ ।
डिप्रोक्स लघुवित्त वित्तीय संस्थामा गाभिएर आजदेखि एकीकृत कारोबार सुरु गरेसँगै नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले लघुवित्तको सेयर कारोबार रोक्का गरेको हो ।
डिप्रोक्सले आदर्शलाई बराबरी हैसियत अर्थात् १:१ सेयर अनुपातमा गाभेको हो । अब आदर्शको सेयर कारोबार डिप्रोक्स लघुवित्तको नामबाट हुनेछ ।
डिप्रोक्सको नामबाट कारोबार हुँदा आदर्शको सेयर मूल्य भने ह्वात्तै घट्ने देखिन्छ । समान हैसियतमा गाभिए पनि डिप्रोक्स र आदर्शको सेयर मूल्यमा ठूलो अन्तर रहेको छ ।
नेप्सेका अनुसार बिहीबार डिप्रोक्सको प्रतिकित्ता भाउ ७४० रुपैयाँ रहेको छ । जबकि आदर्शको प्रतिकित्ता मूल्य ११८० रुपैयाँ रहेको छ । कारोबार खुल्ने बेलासम्म डिप्रोक्सको भाउ बढेमा पनि अहिलेको आदर्शको जत्ति पुग्ने सम्भावना भने देखिँदैन ।