काठमाडौं । नेपाली पूँजीबजारमा उत्पादनमूलक कम्पनीको उपस्थिति नगन्य मात्रमा रहेको छ । नेप्सेमा २८० बढी कम्पनी सूचीकृत हुँदा उत्पादन क्षेत्रका करिब आधादर्जन कम्पनी मात्र सूचीकृत छन् । सरकारले उत्पादन क्षेत्रका कम्पनीहरूलाई पूँजीबजारमा ल्याउन विभिन्न व्यवस्था गरे पनि त्यो प्रभावकारी हुन सकेको छैन ।
हाल नेपालमा झन्डै ५ दर्जन बढी सिमेन्ट उद्योग रहे पनि पूँजी बजारमा हालसम्म एउटा मात्र सूचीकृत छ । यसअघि नेप्सेमा शिवम् मात्र सूचीकृत रहेकोमा अब भने घोराही पाि थपिने भएको छ ।
सेयर बजारमा सूचीकृत हुने दोस्रो सिमेन्ट कम्पनी बन्न लागेको घोराही सिमेन्टले आजदेखि प्रिमियम मूल्यमा सर्वसाधरणका लागि सेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता ४३५ रुपैयाँ (अंकित मूल्य १०० मा ३३५ रुपैयाँ प्रिमियम थपेर) दरले ६९ लाख ११ हजार ६७० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय, कम्पनीका कर्मचारी, वैदेशिक रोजगारीमा रहेका नेपाली र म्युचुअल फण्डलाई सेयर जारी गरेको थियो । सो बेला नबिकेको ८ लाख ७४ हजार ३८२ कित्ता थपेर कम्पनीले सर्वसाधरणमा सेयर जारी गर्न लागेको हो ।
घोराहीको आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा असार ४ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा जेठ असार १४ गतेसम्म आवेदन दिन पाउने छन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरू र मेरोसेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।
कुनको सेयर किन्दा बढी फाइदा ?
सेयर बजारमा दुई वटा सिमेन्ट कम्पनी हुने भएसँगै लगानीकर्तामा कुनको सेयर किन्दा बढी फाइदा होला भन्ने कौतुहलता छ । लगानीकर्ताको दृष्टिकोणबाट हेर्दा जुन कम्पनीको सेयर किन्दा बढी प्रतिफल पाइन्छ, त्यही फाइदाजनक हो ।
नेपाली सेयर बजारमा कम्पनीको आधारभूत वित्तीय अवस्थाभन्दा पनि चलखेल र लहडका आधारमा सेयर मूल्य बढ्ने गरेको देखिन्छ । यस्तोमा लगानीकर्ताले तुलनात्मक बलियो अवस्था भएको कम्पनीको सेयरमा लगानी गर्ने कि लहडको पछि लागेर जोखिम मोल्ने भन्ने विचार गर्नुपर्ने हुन्छ ।
यहाँ हामीले वित्तीय विवरणमा सार्वजनिक हुने मुख्य वित्तीय सूचकहरूको आधारमा यी दुई कम्पनीको तुलना गरेका छौं ।
चुक्ता पूँजी
चुक्ता पूँजीका आधारमा शिवम् सिमेन्ट अगाडि रहेको छ । शिवम्को चुक्ता पूँजी ४ अर्ब ४४ करोड रहेको छ भने घोराहीको ३ अर्ब ९७ करोड १९ लाख रुपैयाँ छ ।
शिवम्मा संस्थापकको हिस्सा ८८ प्रतिशत र सर्वसाधरणको १२ प्रतिशत रहेको छ । यद्यपि, लकिङ पिरियड सकिएकाले सबै सेयर बिक्री योग्य रहेको छ ।
घोराहीमा भने सर्वसाधरणको हिस्सा शिवम्को तुलनामा धेरै छ । घोराहीमा संस्थापकको ८० प्रतिशत र सर्वसाधरणको हिस्सा २० प्रतिशत छ । संस्थापकको सेयर ३ वर्ष लकिङ हुने भएकाले हाललाई घोराहीको सेयर आपूर्ति कम हुने देखिन्छ । सेयर आपूर्ति कम भएपछि स्वार्थ समूहले चलखेल हुनसक्ने सम्भावना हुन्छ ।
जगेडा कोष
जगेडा कोषका आधारमा दुवै कम्पनी बलिया देखिएका छन् । शिवम्को जगेडा कोष (सेयर प्रिमियमसहित) ४ अर्ब ६८ करोड ६२ लाख रुपैयाँ संचित छ ।
त्यस्तै, घोराहीको जगेडा कोषमा ४ अर्ब ३ करोड ८७ लाख रुपैयाँ छ । अब आइपीओपछि करिब साढे २ अर्ब प्रिमियम बापतको रकम आउने छ ।
प्रतिसेयर आम्दानी
प्रतिसेयर आम्दानीका आधारमा घोराहीको अवस्था निकै नाजुक रहेको छ । चालु आवको दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिसेयर आम्दानी जम्मा ५० पैसा मात्र रहेको छ । चैत मसान्तसम्म शिवम्को प्रतिसेयर आम्दानी ९.६९ रुपैयाँ छ । यद्यपि, पछिल्ला वर्षहरूको शिवम्को प्रतिसेयर आम्दानी पनि लगातार घटिरहेको छ ।
प्रतिसेयर नेटवर्थ
प्रतिसेयर नेटवर्थका आधारमा घोराही अगाडि रहेको छ । पुस मसान्तको विवरण अनुसार घोराहीको नेटवर्थ २२७.१० रुपैयाँ छ । चैत मसान्तको वित्तीय विवरण अनुसार शिवम्को प्रतिसेयर नेटवर्थ २०६.६४ रुपैयाँ छ ।
खुद नाफा
खुद नाफाका आधारमा शिवम् सिमेन्ट अघि रहेको छ । चैत मसान्तसम्म शिवम्ले ३१ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको छ । यद्यपि, गत वर्षको सोही अवधिको तुलनामा शिवम्को नाफा ५१ प्रतिशतले घटेको हो ।
घोराहीले हालसम्म तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छैन । दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार पुस मसान्तसम्म घोराहीले १ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको छ ।
दीर्घकालीण ऋण
४ वर्ष अघि नै आइपीओ जारी गरेको शिवम्ले यस अवधिमा ऋण लगभग तिरिसकेका छ । चैत मसान्तसम्म शिवम्को दीर्घकालीन ऋण ७६ लाख ८१ हजार रुपैयाँ मात्र रहेको छ । घोराहीको दीर्घकालीन ऋण ७ अर्ब ५४ करोड ८१ लाख रुपैयाँ छ ।
मूल्य
सेयर मूल्य शिवम्को केही महँगो रहेको छ । एक महिना अघि प्रतिकित्ता ३९० रुपैयाँसम्म झरेको शिवको भाउ अहिले बढेर प्रतिकित्ता ५२५ रुपैयाँ पुगिसकेको छ । घोराहीले भने प्रतिकित्ता ४३५ रुपैयाँमा आइपीओ बिक्रीमा ल्याएको छ ।
लाभांश
शिवम् सिमेन्टले आइपीओ जारी गरे यता हरेक वर्ष कम्तीमा १० प्रतिशत लाभांश दिँदै आएको छ । घोराहीले पनि प्रिमियम बापत साढे २ अर्ब बढी रकम संकलन गर्ने भएकाले कम्पनीले चाहेमा लगानीकर्तालाई लाभांश वितरण गर्न सक्ने देखिन्छ । यद्यपि, कम्पनीले सो रकमबाट लाभांश नबाँड्न पनि सक्छ ।
अधिकांश वित्तीय सूचकका आधारमा शिवम सिमेन्ट बलियो देखिएको छ । तर, नेपाली सेयर बजारमा वित्तीय अवस्था कमजोर भएका कम्पनीको सेयरमा हुने चलखेलबाट पनि राम्रै कमाइ गरेको दृष्टान्त रहेका छन् ।यस्तोमा लगानीकर्ताले तुलनात्मक बलियो अवस्था भएको कम्पनीको सेयरमा लगानी गर्ने कि लहडको पछि लागेर जोखिम मोल्ने भन्ने विचार गर्नुपर्ने हुन्छ ।