खेती गर्न पाइँदैन खेतला, ‘अर्मपर्म’को चलन हराउँदा समस्या

काठमाडौं । मनसुन सुरू भएसँगै देशभर खेतीपाती लगाउने सिजन सुरू भएको छ । किसानहरू आफूलाई वर्षदिन खान पुग्ने अन्न रोप्न खेतबारीमा व्यस्त छन् । अहिले मुख्यगरी धान र कोदो रोपिन्छ ।

खेतीपातीको मौसम सुरू भए पनि किसान भने जहिल्यै चिन्तामा हुन्छन् । कहिले समयमै मल नपाएर, कहिले पानी नपरेर, कहिले कामगर्ने जनशक्ति नभएर । पछिल्लो समय गाउँगाउँबाट भइरहेको बसाइँसराइँ र युवापुस्ताको पलायनले खेती गर्नै समस्या हुन थालेको छन् ।

दोलखाको तामाकोसी गाउँपालिकाकी किसान अम्विका खड्का ज्यालामा काम गर्ने मान्छे नपाउँदा खेतबारी बाँझै राख्नुपर्ने अवस्था आएको बताउँछिन् । आफ्नो पूरै जीवन कृषिमा बिताएकी उनी पछिल्ला केही वर्ष यता काम गर्ने मान्छे नपाएरै खेती गर्न समस्या हुन थालेको बताउँछिन् ।

‘अहिले मकै गोड्ने बेला भएको छ । घरमा म र बुढो मात्र छौं, सबै काम गर्न भ्याउँदैनौं । खेताल खोज्न हिँड्यो कोही पाइँदैन,’ उनले भनिन्, ‘ अनि यसरी अब कसरी खेती गर्न सकिन्छ र ?’

गाउँमा झण्डै ५ रोपनी जग्गामा खेती गर्दै आएकी उनले दैनिक ५०० रुपैयाँ ज्याला दिँदा समेत काम गर्ने मान्छे पाउन नसकेको बताइन् । एक त गाउँमा मान्छे नै छैनन्, भएका पनि अन्य काममा जााँदा समस्या भएको उनले बताइन् ।

‘गाउँमा युवा कोही छैनन्, छोराछोरी सहरमा छन्, दुई जनाले मात्र खेती गर्न सकिँदैन, खेती नगरे आफू मात्र हैन वस्तु पनि भोकै हुन्छन्,’ खड्काले चाणक्य पोष्टसँग भनिन् ‘अहिले दिनको रू. ५०० दिनएर काम लगाउछु भन्दा पनि खेताला पाइएको छैन, भएका सबै हाइड्रोपावरको काममा लागेका छन् ।’

उनी एक प्रतिनिधि पात्र मात्र हुन् । अहिले पहाडी क्षेत्रका हरेक गाउँमा यस्तै समस्या छ । तराई क्षेत्रमा ट्रयाक्टर लगायत कृषि उपकरणले खेतीपाती गरिने भए पनि पहाडी क्षेत्रमा कृषिमा यान्त्रीकरण हुन सकेको छैन । मानिसले नै सबै काम गर्नुपर्ने अवस्था छ ।

वैदेशिक रोजगारी र अर्मपर्मको चलन हराउँदा समस्या

विगतमा अर्मपर्म गर्दै मिलेर खेती गर्ने गर्थे । हाल गाउँमा मान्छे नै नहुँदा अर्मपर्मको चलन हराइसक्यो । युवा पुस्ता कोही विदेश त, कोही सहर पसेका छन् । जसकारण गाउँमा बाँझो जमिनको क्षेत्रफल वर्षेनी बढ्दै गएको छ ।

परम्परागत खेती प्रणालीका कारण कृषिकर्मबाट लागत अनुसार प्रतिफल नपाउँदा एकातिर खेती गर्ने मान्छेको संख्या नै घट्दै गएको छ भने अर्कोतर्फ खेती गरिरहेका पनि जनशक्ति नपाउँदा खेती हैरानी व्यहोरिरहेका छन् ।

कृषि विज्ञ कृष्ण रेग्मी गाउँमा विकासे कामले सबैलाई खेतीबाट टाढा लगेको बताउँछन् । उनले असार साउनमा सबैभन्दा धेरै खेती हुने सिजन भए पनि खेताला र अर्मपर्मको संस्कार हराउँदै जादा खेती गर्न समस्या हुन थालेको बताए ।

‘समय पहिलाको जस्तो छैन, अर्मपर्म गर्ने संस्कार पनि हराइ सक्यो, भएका युवा कि खाडी, कि काठमाडौं पस्छन्, यसरी कृषि क्षेत्र बचाउन गाह्रो छ,’ उनले भने ।

उनले कृषिमा दिगोपन नहुँदा खेताला गरे पनि केही समयको लागि मात्र हुने भएकाले यसमा आकर्षण हुन नसकेको बताए । उनका अनुसार कृषिमा मजदुर बढाउन अन्या काम गरे जस्तो तलबको व्यवस्था हुनुका साथै लामो समय काम गर्ने वातावरण हुनुपर्ने हुन्छ ।

उनले प्रतिरोपनी जग्गामा १० देखि १५ जनालेसम्म रोजगार पाउने बताए । हाल आएर कृषि औजारले समेत मजदुरहरूलाई विस्थापित गर्दै लगेको उनको भनाइ छ ।

कृषिप्रधान मुलुक भनिए पनि व्यावसायिक कृषि प्रणाली अपनाउन नसक्दा कृषिपेशाबाट पलायन हुनेको संख्या बढ्दै गएको उनले बताए ।

३८ प्रतिशत क्षेत्रमा मात्रै सिचाइँ सुविधा

धान नेपालकै मुख्य खेतीमा पर्छ । विशेष चैते धान र वर्षे धान प्रचलनमा रहेको छ । सरकारले हरेक वर्ष धानको उत्पादन बढ्दै गएको जनाए पनि धान लगाउने क्षेत्रफल र उत्पादन घट्दै गइरहेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा कुल १४ लाख ७० हजार हेक्टर जग्गा धानखेतीका लागि योग्य छ । देशभरको खेतीयोग्य जग्गाको करिब ३८ प्रतिशत जमिनमा मात्र सिँचाइ सुविधा पुगेको सरकारी आँकडा छ । आकाशे पानीकै भरमा धान बाली लगाउनुपर्ने बाध्यताको अन्त्य नहुँदासम्म धानमा आत्मनिर्भर हुने सरकारको लक्ष्य पूरा हुन नसक्ने कृषि विज्ञ बताउँछन् ।

नेपाललाई वार्षिक ३९ लाख ९९ हजार ६२२ मेट्रिक टन चामल आवश्यक पर्छ । सरकारले १५ जिल्लामा धान उत्पादन बृृहत् कार्यक्रम सञ्चालन गर्दै आएको छ भने झापा जिल्लालाई धानको ‘सुपर जोन’ घोषणा गरेको छ ।

गत असार साउनमा धान उत्पादन अघिल्लो वर्षको तुलनामा ८ प्रतिशतले वृद्धि भएको मन्त्रालयले जनाएको छ । गत वर्षमा चैते धान र वर्षे धान गरी कुल उत्पादन गत वर्षको तुलनामा ७० हजार ८३१ मेट्रिकटनले वृद्धि भई ५६ लाख २१ हजार ७१० मेट्रिकटन पुगेको मन्त्रालयले जनाएको छ ।

चालु आवको १० महिनामा मात्रै २९ अर्ब १९ करोड १८ लाख रुपैयाँ बराबरको चामल तथा धान आयात भएको छ । सो मूल्यमा ६३ करोड ६२ लाख केजी चामल तथा धान आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा ४७ अर्ब ५७ करोड ३६ लाख रुपैयाँ बराबरको १ अर्ब १३ करोड केजी धान तथा चामल आयात भएको थियो ।

 

नेप्सेमा लगातार सातौं दिन वृद्धि, ६ महिना यताकै धेरै कारोबार Read Previous

नेप्सेमा लगातार सातौं दिन वृद्धि, ६ महिना यताकै धेरै कारोबार

सट्टेबाजीको अवैध धन्दा : एकै व्यक्तिले ६३ वटा खाता खोलेर ६४ करोडको कारोबार Read Next

सट्टेबाजीको अवैध धन्दा : एकै व्यक्तिले ६३ वटा खाता खोलेर ६४ करोडको कारोबार