आइएमइ समूहको तेस्रो केबलकार औपचारिक रूपमा संचालनमा

बुटवल । लुम्बिनी केबलकार व्यावसायिक रुपमा सञ्चालनमा आएको छ । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्धारा लुम्बिनी केबलकारको औपचारिक उद्घाटन गरेका हुन् ।

प्रधानमन्त्री दाहालले बुटवलको गोलपार्क बमघाटमा रहेको बटम स्टेशनमा ताम्रपत्र अनावरण गरि औपचारिक उद्घाटन गरेका हुन् ।

आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केवलकार व्यावसायिक रुपमा सञ्चालन हुने गरी आज औपचारिक उद्घाटन भएको हो । बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरसम्म ३ किलोमिटर दुरीको केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो ।

केबलकारको दैनिक सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकासँग त्रिपक्षीय सम्झौता भइसकेको छ । लुम्बिनी केबलकार प्रालिले प्रति टिकट शुल्कको २ प्रतिशत रकम दुई वटा पालिकाका लागि छुट्टाउने छ ।

आइएमई समूहले सञ्चालनमा ल्याउन लागेको यो तेस्रो केबलकार हो । यसअघि आइएमई समूहले काठमाडौंको चन्द्रागिरी र हालै नवलपुरको गैडाकोटमा मौलाकालिका केबलकार सञ्चालनमा ल्याइसकेको छ ।

लुम्बिनी केवलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले लुम्बिनी केबलकार सञ्चालनले बसन्तपुरमा नयाँ धार्मिक र पर्यटकीय गन्तव्य थपिएको बताए ।

लुम्बिनी केबलकार नेपाल सरकार, लुम्बिनी प्रदेश सरकार, स्थानीय सरकारहरु सहित स्थानीयको सामूहिक प्रयासबाट प्राप्त माया, सद्भाव र सहयोगका कारण समयमै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन सफल भएको पनि अध्यक्ष ढकालले उल्लेख गरे ।

रुपन्देही र पाल्पा जिल्ला जोड्ने यस पर्यटकीय पूर्वाधारले रुपन्देही, पाल्पा, नवपरासी र कपिलवस्तु जिल्ला र समग्र लुम्बिनी प्रदेशकै आर्थिक तथा सामाजिक रुपान्तरणमा टेवा पुयाउने विश्वास रहेको पनि अध्यक्ष ढकालले बताए ।

लुम्बिनी केवलकार बलकार र रिसोर्ट सहितको आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ छ । पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ । टप स्टेशनमा पर्यटकका लागि भेज र नन भेज छुट्टाछुट्टै रेष्टुरेन्ट बनिसकेका छन् भने होटल, बाल उद्यान, स्काईवाक, जीप लाइन निर्माणको क्रममा छन । मोनोकेवल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डोला रहेको केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्छ ।

बटम स्टेसन समुद्री सतहबाट २३० मिटर र टप स्टेसन ९४० मिटरको उचाइमा रहेको छ । बटन स्टेशनबाट १० मिनेटको यात्रामै टप स्टेशनमा पुग्न सकिन्छ । खासगरी गर्मी मौसममा बसन्तपुर पुगेर शितलता प्राप्त गर्न केबलकारले सजिलो माध्यम हुने अध्यक्ष ढकालले बताए । केबलकार सञ्चालनमा आएसँगै टप स्टेशनमा साढे ३ अर्ब लागतमा पाँचतारे होटल, लगायत संरचना निर्माण हुने छन् ।

५६ लाख सेयर लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नु सरकारको दायित्व हो : अर्थमन्त्री Read Previous

५६ लाख सेयर लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नु सरकारको दायित्व हो : अर्थमन्त्री

नेप्सेमा सिटी होटलको आइपीओ सूचीकृत, ओपन रेन्ज कति ? Read Next

नेप्सेमा सिटी होटलको आइपीओ सूचीकृत, ओपन रेन्ज कति ?