घोराही सिमेन्टको सेयर कर्मचारी र म्युचुअल फण्डले नै किनेनन्, आखिर किन बिकेन ?

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ)मा लगानीकर्ता आकर्षित हुन नसकेको देखिएको छ ।

कम्पनीले पहिलो चरणमा वैशाख १९ देखि आयोजना प्रभावित क्षेत्रका स्थानीय, कम्पनीका कर्मचारी, म्युचुअल फण्ड र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रिमियम मूल्यमा आइपीओ बिक्रीमा ल्याएको थियो । तर, आरक्षित कुनै पनि सेयरमा माग अनुसार आवेदन नपरेको हो ।

कम्पनीले पहिलो चरणमा बिक्रीमा ल्याएको सेयरमध्ये आधाभन्दा केही बढी अर्थात् ५४.१४ प्रतिशत मात्र बिकेको छ । कम्पनीले कुल १९ लाख ६ हजार ५१३ कित्ता सेयर बिक्रीमा ल्याएकोमा १० लाख ३२ हजार १३१ कित्तामा लागि मात्र आवेदन परेको छ भने ८ लाख ७४ हजार ३८२ कित्ता बिकेन् ।

रोचक कुरा त छ भने स्वयम् कम्पनीका कर्मचारीले नै सबैभन्दा कम आवेदन दिएका छन् । उद्योगले आफ्ना कर्मचारीका लागि ३ लाख ७७ हजार ३३१ कित्ता सेयर छुट्याएको थियो । जसमा १९ हजार ५३० कित्ता (५.१८ प्रतिशत) सेयर मात्रै बिक्री भएको छ । कम्पनीले कर्मचारीका लागि छुट्याएको ९४.८२ प्रतिशत सेयर बिक्री भएको छैन ।

सेयर बिकाउन वास्तविकभन्दा पनि बढाइचढाइ वित्तीय विवरण देखाएको भन्ने आरोप लागेको कम्पनीमाथि स्वयम् कर्मचारीले नै सेयर नकिनेपछि झन् आंशका बढेको छ ।

त्यसैगरी, कम्पनीले आयोजना प्रभावित क्षेत्र दाङ र रोल्पाका स्थानीय वासिन्दाका लागि प्रतिकित्ता ४०० रुपैयाँ (अंकित मूल्य १०० मा ३०० रुपैयाँ प्रिमियम थपेर) दरले ३ लाख ९७ हजार १९० कित्ता सेयर विक्रीमा ल्याएको थियो । सोमध्ये ७७ हजार २९० कित्ता अर्थात् १९.४६ प्रतिशत सेयर मात्रै बिक्री भएको छ ।

स्थानीयले अहिलेको ठाउँबाट उद्योग सार्नुपर्ने मागसहित आन्दोलन गर्दै कम्पनीको आइपीओ नै बहिष्कार गरेका थिए । कम्पनीले स्थानीयलाई अरुलाई भन्दा प्रतिकित्ता ३५ रुपैयाँ कममा सेयर दिए पनि अधिकांशले नभरेका हुन् ।

त्यस्तै, कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रतिकित्ता ४३५ रुपैयाँ (अंकित मूल्य १०० मा ३३५ रुपैयाँ थप गरी) दरले ७ लाख ५४ हजार ६६१ कित्ता साधारण सेयर विक्रीमा ल्याएको थियो । त्यसमा ६ लाख ६ हजार ३५० कित्ता अर्थात् ८०.३५ प्रतिशत सेयर खरिदका लागि मात्र आवेदन परेको छ ।

त्यसैगरी, कम्पनीले सामूहिक लगानी कोष (म्युचुअल फण्ड)हरूका लागि पनि ३ लाख ७७ हजार ३३१ कित्ता सेयर छुट्याएको थियो । सो मध्ये ८७.१८ प्रतिशत अर्थात् ३ लाख २८ हजार ९६१ कित्ता सेयर मात्रै बिक्री भएको छ ।

म्युचुअल फण्डका लागि छुट्याएको ४८ हजार ३७० कित्ता सेयरका लागि आवेदन नै परेन । म्युचुअल फण्डका लागि छुट्याइएको सेयर नबिकेको यो पछिल्लो ४ वर्षयता पहिलो पटक हो । यसअघि शिवम् सिमेन्टले प्रिमियम मूल्यमा बिक्रीमा ल्याएको आइपीओ पनि म्युचुअल फण्डले किनेका थिएनन् ।

आखिर किन बिकेन त आइपीओ ?

पछिल्लो समय आइपीओ भनेपछि लगानीकर्ताले मरिहत्ते गर्ने गरेका छन् । मागभन्दा कयौं गुणा बढी आवेदन पर्दै आएको छ । अपवादमा केही हाइड्रोपावरको सेयरमा स्थानीयले माग अनुसार आवेदन नदिएको बाहेक अरुलाई छुट्याएको सेयर नबिकेको रेकर्ड छैन ।

तर, घोराही सिमेन्टको सेयरको हकमा भने अवस्था उल्टो भएको छ । स्थानीयले बहिष्कार नै गरेका थिए भने कर्मचारी र म्युचुअल फण्डले समेत सेयर किन्न चासो देखाएनन् ।

कम्पनीको सेयर नबिक्नुको मुख्य ३ कारण देखिएका छन् । सेयर मूल्य महँगो हुनु, कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा आशंक हुनु र लगानीकर्तासँग पैसा नहुँदा सेयर बिक्न नसकेको सेयर बजारका जानकार बताउँछन् ।

एक त कम्पनीले सार्वजनिक गरेको विवरण विवरणमै प्रश्न उठेको छ । त्यसमाथि पनि महँगो मूल्यमा सेयर बिक्रीमा ल्याउँदा नबिकेको हो । पछिल्लो समय वित्तीय विवरण बलिया भएका कम्पनीको सेयर घोराहीकोभन्दा सस्तोमै पाइने अवस्था छ । त्यसो हुँदा लगानीकर्ताले घोराहीको सेयर किन्न आँट नगरेको देखिन्छ ।

स्थानीय र सर्वसाधरणले कम्पनीको वित्तीय अवस्थाको अध्ययन गरेर भन्दा पनि लहडमा आवेदन दिने गरेका छन् । तर, म्युचुअल फण्डहरूले कम्पनीको समग्र अवस्थाको अध्ययन, भविष्यमा पाउने प्रतिफल समेत ध्यानमा राखेर आवेदन दिन्छन् । कम्पनीको वित्तीय विवरण भ्रामक रहेको आशंक हुँदा म्युचुअल फण्डहरूले सेयर किन्न इच्छा नदेखाएको सेयरविज्ञ बताउँछन् ।

कस्तो छ वित्तीय अवस्था

आइपीओ निष्काशनको लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी ट्रिपल बी माइनस इस्यूअर’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।

हाल ३ अर्ब १७ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपीओ निष्काशनपछि ३ अर्ब ९७ करोड १९ लाख रुपैयाँ पुग्नेछ ।चालु आवको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीले  पुस मसान्तसम्म १ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको छ ।

सो अवधिसम्म कम्पनीकाे जगेडा काेषमा ४ अर्ब २ कराेड रुपैयाँ संचित छ । प्रतिसेयर नेटवर्थ २२७.१० रुपैयाँ र प्रतिसेयर आम्दानी ५० पैसा मात्र छ । कम्पनीको दीर्घकालीन ऋण ७ अर्ब ५४ करोड ८१ लाख रुपैयाँ छ ।

दाङको घोराही उपमहानगर ४ मा रहेको उद्योगले क्लिङ्करका साथै सिमेन्ट पनि उत्पादन गर्दछ । कम्पनीले वार्षिक ३ लाख ५३ हजार टन क्लिङ्कर, २ लाख ४० हजार टन ओपीसी, ३ लाख ३० हजार टन पीपीसी सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको आहृवानपत्रमा उल्लेख छ ।

२०७८ मंसिरदेखि उद्योगले व्यवसायिक रुपमा सिमेन्टको बिक्री गर्न थालेको हो । साधारण लगानी फिर्ता हुने अवधि ४ वर्ष ८ महिना छ भने डिस्काउन्टेड लगानी फिर्ता हुने अवधि ८ वर्ष ५ महिना छ ।

नबिकेको सेयर सर्वसाधरणलाई बेचिने

कम्पनीले यसअघि नबिकेको सेयर अब सर्वसाधरणलाई बेच्न भएको छ । पहिलो चरणमा नबिकेको कुल ८ लाख ७४ हजार ३८२ कित्ता सेयर अब दोस्रो चरणमा सर्वसाधरणलाई बेच्ने भएको हो ।

कम्पनीले अब जेठ ३२ गतेदेखि सर्वसाधरणलाई यसअघि छुट्याएको र अहिले नबिकेको गरी कुल ६९ लाख ११ लाख ६७० कित्ता सेयर बिक्री गर्नेछ ।

कम्पनीले सर्वसाधरणलाई १०० रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले ६९ लाख ११ हजार ६७० कित्ता सेयर निष्कासन गर्नेछ।

यदि सर्वसाधरणले पनि कम्पनीको सबै सेयर किनेनन् भने नागरिक लगानी कोषले सकार्नु (अण्डरराइटिङ) पर्नेछ ।

भदौ मसान्तसम्म कुनै बाहनामा सडक खन्न नपाइने Read Previous

भदौ मसान्तसम्म कुनै बाहनामा सडक खन्न नपाइने

भरतपुरमा साइलेज उद्योग सञ्चालनमा, प्रतिकिलो ११.५० रुपैयाँमा बेच्ने Read Next

भरतपुरमा साइलेज उद्योग सञ्चालनमा, प्रतिकिलो ११.५० रुपैयाँमा बेच्ने