पाल्पामा पेट्रोलियम पद्धार्थको अध्ययन सुरू, दैलेखमा मेसिन लैजान समस्या

काठमाडौं । पाल्पाको तानसेनमा पेट्रोलियम पदार्थ उत्खननका लागि अध्ययन सुरू भएको छ । चिनियाँ टोलीले तानसेनमा पेट्रोलियम पद्धार्थको उत्खनन सम्भावना बारे प्रारम्भिक अध्ययन सुरू गरेको हो ।

खानी तथा भूगर्भ विभागका सूचना अधिकारी नारायण बास्कोटाले तान्सेनमा ५ जनाको चिनियाँ टोलीले अध्ययन गरिरहेको जानकारी दिए । उनले चिनियाँ टोली फिल्डमै गएर काम सुरू गरेको बताए ।

‘अहिले चिनियाँ ५ जनाको टोली नेपाल आएको छ, तानसेनमा अन्वेषणका लागि अध्ययन गर्न आएका हुन्,’ बास्कोटाले चाणक्य पोष्टसँग भने ‘यो प्रारम्भिक अध्ययन मात्र हो, केही भए जस्तो थाहा भए थप अध्ययन अघि बढाइने छ ।’

चिनियाँ टोलीको फिल्ड अध्ययन प्रतिवेदनपछि थप अध्ययन अघि बढ्ने उनले बताए । उक्त अध्ययनले पेट्रोल भएको देखाए मात्र थप अन्वेषण प्रक्रिया अघि बढाइने उनले बताए ।

दैलेखमा ठूला मेसिन लैजान समस्या

यता, दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण गर्न चिनियाँ टोली मेसिन लिएर जान तयार भए पनि सडक अवस्थाका कारण फाइनल ड्रिलिङको काम रोकिएको छ ।

अन्वेषणका लागि ४० टनका ठूला मेसिन लानुपर्ने हुँदा मोडहरूमा लान नसकिने भएको उनले बताए । उनका अनुसार सडकका मोडहरू साँघुरा भएका कारण चिनियाँ टोलीले ल्याउने अन्वेषणका मेसिन लान नसक्ने भएको हो ।

उक्त कारण सडक विस्तारका लागि प्रदेश भौतिक पूर्वाधार मन्त्रालयहरूमा सम्पर्क गरी ठेक्का निकाल्ने तयारी भएको उनले बताए ।झण्डै २६ स्थानमा सडक चौडा गर्नुपर्ने अवस्था आएको हो । हरेक मोडमा १०० देखि डेढ सय मिटर सडक विस्तार गर्नु पर्ने भएको उनले बताए ।

‘सडक विस्तारका लागि हामीले प्रदेशका मन्त्रालयसँग कुरा गरेका छौँ, उहाँहरूले ठेक्का आहुवान गरिसक्नु भएको छ, यो निर्माण हुन साथ चिनियाँले काम काम सुरू गर्नेछ,’ बास्कोटाले भने ।

चिनियाँ टोलीले ल्याउने अन्वेषण मेसिनको चौडाइ नै साढे १४/१५ मिटरको हुने भएका कारण सडक विस्तार नगरी अन्वेषणको काम सुरू नहुने भएको हो ।

पेट्रोलियम अन्वेषणका लागि विगतमा ४ वर्षको सम्झौता भएको थियो । सो अवधिमा कोभिडका कारण चिनियाँ टोली नेपाल आउन नसक्दा कामले गति लिन सकेको थिएन ।

हाल अन्वेषणका लागि २ वर्ष म्याद थप भएको छ । अब अन्वेषणको काम सकिन १ वर्ष मात्र समय बाँकी रहेको छ । हाल भइरहेको काम हेर्दा अन्वेषणको काम थप अवधिमा समेत नसकिने देखिन्छ ।

 

झोलुङ्गे पुलमा नयाँ रणनीति : हरेक आधा घण्टाको दूरीमा बनाइने, कम्तीमा १० वर्ष लाग्ने Read Previous

झोलुङ्गे पुलमा नयाँ रणनीति : हरेक आधा घण्टाको दूरीमा बनाइने, कम्तीमा १० वर्ष लाग्ने

२ करोड ६३ लाख ठगीको आरोपमा मेडिसिटी अस्पतालका तीन पूर्वकर्मचारी पक्राउ Read Next

२ करोड ६३ लाख ठगीको आरोपमा मेडिसिटी अस्पतालका तीन पूर्वकर्मचारी पक्राउ