काठमाडौं । सेयर बजारमा लगातार दोस्रो दिन वृद्धि भएको छ । मंगलबार २५ अंकले बढेको नेप्से आज सामान्य अंकले बढेको हो ।
सूचकसँगै कारोबार रकममा पनि बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३८ करोडले बढेर २ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ ।
बुधबार नेप्से परिसूचक ४.६८ अंकले बढेर १९३२.३३ विन्दुमा पुगेको छ । यसदिन २६१ कम्पनीको ६५ लाख ४१ हजार ३८८ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ८ को परिसूचक बढेको छ भने ५ को घटेको छ । व्यापार उपसमूहको परिसूचक सबैभन्दा धेरै ४.९७ प्रतिशतले बढेको छ ।
आज सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ । यसको १० करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्ट झन्डै ९ करोड र नागरिक ल गानी कोष पौने ७ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
बढ्दो बजारमा आज युनिक नेपाल लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।
त्यसैगरी, खप्तड लघुवित्त ८.०२, स्वाबलम्बन लघुवित्त, साल्ट ट्रेडिङ, सगरमाथा जलविद्युत्, सिभिल लघुवित्त र कालिका लघुवित्तको सेयर मूल्य ५ प्रतिशतले बढेको छ ।