काठमाडौं । नेपाली सेयर बजार पछिल्लो डेढ वर्ष यता बियरिस ट्रेन्डमा छ । यस अवधिमा नेप्से परिसूचक झन्डै १४०० अंक घटेर १८०० विन्दुसम्म आइपुगेको थियो । अहिले थोरै बढेर १९२७ बिन्दुमा पुगेको छ ।
नेप्से परिसूचक घटेसँगै सूचीकृत १३ वटै समूहको सूचकमा पनि भारी गिरावट आएको छ । तर, पछिल्लो ६ महिना यता अरू सबै समूहको परिसूचक घट्दो क्रममा रहे पनि होटल तथा पर्यटन समूहको परिसूचकमा भने उछाल आइरहेको छ ।
पछिल्लो ६ महिनाको अवधिमा मात्रै होटल समूहको परिसूचक १५१६ अंकले बढेको छ । गत पुस ३ गते २६८२ विन्दुमा रहेको होटल समूहको परिसूचक मंगलबार (जेठ २३)सम्म करिब ५७ प्रतिशतले बढेर ४१९८ विन्दुमा आइपुगेको छ । जबकि यस अवधिमा नेप्से परिसूचक झन्डै ३०० अंकले घटेको छ । यस अवधिमा सूचीकृत अरू सबै समूहको परिसूचक औसतमा झन्डै २० प्रतिशतले घटेको छ ।
कोभिडपछि बुल रनमा अरू सबै समूहको परिसूचकले नयाँ रेकर्ड राख्दा पनि होटल समूहमा भने उछाल आउन सकेको थिएन । तर, पछिल्लो ६ महिना यता भने होटल समूहमा लगानीकर्ता आकर्षित हुँदा सूचकले नयाँ उचाइ लिइरहेको छ ।
किन आइरहेछ उछाल ?
होटल तथा पर्यटन समूहमा लगानीकर्ता आकर्षित हुनुको मुख्य कारण हो, यी समूहमा रहेका कम्पनीको वित्तीय अवस्थमा आएको उछाल ।चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार सूचीकृत होटलहरूको नाफा औसतमा १६३१.२० प्रतिशतले बढेको छ ।
चैत मसान्तसम्म सूचीकृत ५ होटलहरूले ७७ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा १७ गुणाले बढी हो । गत वर्ष चैतसम्म यी होटलले ४ करोड ४५ लाख रुपैयाँ मात्र नाफा कमाएका थिए ।
कोभिडका कारण व्यवसाय ठप्पप्रायः हुँदा घाटामा रहेको होटलहरू पछिल्लो समय पर्यटकीय गतिविधमा सुधार हुँदै जाँदा व्यवसायमा सुधार आइ नाफामा जान थालेका छन् । जसकारण लगानीकर्ताको यी कम्पनीप्रति आकर्षण बढ्दो छ ।
तेस्रो त्रैमासमा सेयर बजारमा मुख्य समूह बैंक, हाइड्रोपावर, माइक्रोफाइनान्स, फाइनान्स लगायत समूहका कम्पनीहरूको नाफमा भारी गिरावट आएको छ । यी क्षेत्रका कम्पनीको नाफा उल्लेख्य रुपमा घट्दा आगामी वर्ष दिने लाभांश समेत प्रभावित हुने देखिन्छ । अरूको लाभांश् क्षमता घटिरहँदा होटलको भने बढेकाले सम्भावित लाभांशलाई ध्यानमा राखी लगानीकर्ताहरू होटल समूहका कम्पनीतिर डाइभर्ट भएको आकलन छ ।
यद्यपि, होटल समूहमा सूचीकृत सबै कम्पनीले भने लाभांश वितरण गर्न सक्ने अवस्था छैन । नेप्सेमा होटल समूह अन्तर्गत हाल ५ कम्पनी सूचीकृत छन् । जसमा ३ होटल र २ केबलकारसहित होटल सेवा दिइरहेका कम्पनी छन् । आगामी वर्ष सोल्टी, ओरेन्टल होटलले आकर्षक लाभांश दिन सक्ने देखिए पनि चन्द्रागिरि हिल्स, कालिञ्चोक दर्शनको भने रिटेन्ड अर्निङ ऋणात्मक छ ।
होटलको सेयरमा आकर्षण देखिनुको अर्को कारण यी कम्पनीहरूको व्यवसायमा आएको सुधार र भविष्यमा झनै व्यापार बढ्ने संकेत । पछिल्लो समय विदेशी पर्यटक आवगमन लगातार बढ्दो क्रममा छ । आन्तरिक पर्यटकको संख्या पनि बढ्दो । पर्यटकीय गतिविधि बढ्दा होटलहरूको व्यवसाय बढी नाफा पनि बढ्ने सम्भावना देखेकाले होटलको सेयरमा आकर्षण बढेको लगानीकर्ताहरू बताउँछन् ।
त्यस्तै, होटल समूहको सूचकमा उछाल आउनुको अर्को कारण हो होटलको सेयर मूल्यमा भएको बढोत्तरी । होटल समूहमा सूचीकृत कम्पनी थोरै भएकाले एउटाको सेयर मूलय बढ्ने बित्तिकै परिसूचकमा ठूलो प्रभाव पार्दछ । पछिल्लो समय सोल्टी होटलको सेयर मूलय झन्डै दोब्बरले बढेको छ । साथै, हालै सूचीकृत भएको कालिञ्चोक दर्शनको सेयर मूलय बढ्दा पनि समग्र सूचकमा बढोत्तरी आएको हो ।
सूचीकृत अन्य समूहको तुलनामा होटल समूहका कम्पनीको सेयर संख्या एकदमै कम रहेको छ । सेयर संख्या कम भएकाले माग र आपूर्तिमा देखिने असन्तुलनले पनि मूल्य बढाउन केही सहयोग गरेका देखिन्छ ।