काठमाडौं । जयनगर–बर्दिबास रेलमार्गअन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म रेलमार्ग निर्माण सम्पन्न भएको छ ।
भारत–नेपालमैत्री रेल परियोजना अन्तर्गत निर्माण भएको कुर्था–बिजलपुरा रेलमार्ग गत साता भारतले नेपाललाई हस्तान्तरण गरेको हो । गत साता प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा उक्त रेलमार्ग हस्तान्तरण गरिएको हो ।
जयनगर–बर्दिबास ५२ किलोमिटर रेलमार्गमध्ये यसअघि नै जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर खण्डमा रेल सञ्चालनमा आइसकेको छ । कुर्थादेखि बिजलपुरासम्म थप १७ किलोमिटरमा रेल निर्माण सम्पन्न भई हस्तान्तरण भएको हो ।
उक्त रेलमार्ग निर्माण पूरा भए पनि संचालनमा आउन भने अझै करिब डेढ महिना लाग्ने भएको छ । रेलमार्गको ट्रयाक र पूर्वाधार निर्माण सम्पन्न भए पनि ट्रान्सफर्मर निर्माण, विद्युत् जडान लगायत काम बाँकी रहेकाले संचालनमा आउन अझै समय लाग्ने भएको हो ।
नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरन्जन झाले रेलवे सञ्चालनका लागि ट्रान्सफर्मर निर्माण र विद्युत्को व्यवस्थापन गर्न बाँकी रहेको छ । उनले उक्त रेलवे सञ्चालनका लागि २०० देखि ४०० केभीए विद्युत् आवश्य पर्ने बताए ।
‘रेल निर्माण भइसक्यो तर गुडाउन अझै समय लाग्छ, विद्युत प्रसारणका लागि ट्रान्सफर्मर निर्माण भएको छैन, ट्रयाकमा पनि केही काम बाँकी छ,’ झाले चाणक्य पोष्टसँग भने ‘हामीले प्राधिकरणसँग कुरा गरेका छौँ, भारतले ट्रयाकको काम गरिरहेको छ ।’
जयनगरदेखि बिजलपुरासम्म रेलवे सञ्चालनमा आए कुल ५२ किलोमिटर रेल गुड्ने छ । उनले रेलवे सञ्चालनमा ल्याउन अझै डेढ महिना हाराहारी समय लाग्ने बताए ।
यस्तै, बिजलपुरादेखि बर्दीबाससम्म २८ किलोमिटर खण्डमा हाल मुआब्जा वितरणको काम भइरहेको छ । यसखण्ड अन्तर्गत बर्दिबासमा ७० बिघा जमिनको मुआब्जा वितरणका लागि २ अर्ब ४० करोड रुपैयाँ विनियोजन गरिएको थियो । हालसम्म ७० प्रतिशत मुआब्जा वितरण भइसकेको उनले जानकारी दिए । यस खण्डमा मुआब्जा वितरण पछि निर्माणको कामले गति लिने उनको भनाइ छ ।
जयनगर-जनकपुर खण्डमा रेल गुडिरहेको छ । जयनगर बर्दिबास ७० किलोमिटरमा बन्ने रेलमार्ग मध्ये भारतको जयनगरदेखि जनकपुरसम्म ३५ किलोमिटर खण्डमा २०७८ साल १२ महिना १९ गते नेपाल सरकार र भारत सरकारले संयुक्त उद्घाटन गरेको थियो ।
बथनाहा-विराटनगर रेल संचालन
गत साता प्रधानमन्त्री पुस्पकमल दाहालको भारत भ्रमणको अवसर पारेर बथनाहादेखि नेपालको विराटनगरको कस्टम यार्डसम्म कार्गो रेलको सञ्चालन भइसकेको छ । यो रेल निर्माण गरी हस्तान्तरण भएको हो ।
यस्तै,भारत सरकारको अनुदान सहयोगमा निर्माणाधीन पटनादेखि नेपालको कटहरी मोरङसम्म ८ किलोमिटर रेलमार्ग सम्पन्न भइ हस्तान्तरण भएको जनाइएको छ । यो रेल सेवाले ढुवानी र भन्सार विन्दुमा सहज सेवा दिने अनुमान गरिएको छ ।