काठमाडौं । यातायात व्यवस्था विभागले मध्यम तथा लामो दूरीमा चल्ने सार्वजनिक सवारीका लागि झन्डै डेढ दर्जन नयाँ नियमहरु ल्याएको छ ।
यातायात व्यवस्था कार्यविधि निर्देशिका,२०६० संशोधन गर्दै सवारीको व्यवस्थापन, सरसफाइ, चालक÷सहचालकले गर्ने व्यवहार बारे लगायत १६ बुँदे नयाँ नियमहरू बनाएको बनाएको हो ।
सो निर्देशिका कार्यान्वयनमा आएपछि अब सार्वजनिक सवारीसाधनको बाहिर भित्रै सफा गर्नुपर्ने, सिट, भूइँ, पर्दा लगायत अनिवार्य सफा गर्नुपर्ने छ ।
यसैगरी, सवारीसाधन भित्र धुम्रपान निषेध गर्नुपर्ने, ठूलो आवाजमा संगीत बजाउन नहुने, बस छुट्नुअघि र गन्तव्यमा पुगेपछि विमानमा जस्तै यात्रुका लागि सन्देशमूलक अडियो बजाउनु पर्नेछ ।
यस्तै, सार्वजनिक सवारी साधनमा जनस्वास्थ्य विषयका प्रबद्र्धनात्मक सूचना टाँस्नुपर्ने, सरसफाइयुक्त खाना खाने स्थान तथा सरसफाइयुक्त शौचालय भएको स्थानमा मात्र आवश्यकता अनुसार रोक्नुपर्ने व्यवस्था गरिएको छ ।
यसैगरी, व्यवस्थापकले सवारी चालक तथा सहचालकहरुको कम्तीमा ३ महिनामा एकपटक स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउनु पर्ने, सार्वजनिक सवारीमा संकलन भएको फोहोर तोकिएको स्थानमा मात्र फ्याक्नुपर्ने छ ।
यस्तै, टिकट काउण्टरमा कार्यरत कर्मचारी, चालक/सहचालकले अनिवार्य रुपमा कम्पनीले उपलब्ध गराएको परिचयपत्र लगाउनुपर्ने, पहिचान खुल्ने पोशाक लगाउनुपर्ने व्यवस्था निर्देशिकामा गरिएको छ ।