हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा–३ मक्रान्चुलीमा स्थापना भएको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले यहाँ उत्पादित दूध खरिद गर्न थालेपछि कृषकलाई बजारीकरणमा सहज भएको छ ।
दुग्ध उद्योगका रूपमा सञ्चालित उक्त सहकारीले उत्पादित दूध खरिद गरिदिएपछि यहाँका कृषक उत्पादन बढाउन लागिपरेका हुन् । उद्योगमा दैनिक ४ हजार २०० लिटर दूध सङ्कलन भइरहेको छ । दैनिक २ हजार लिटर दूधको छुर्पी, पनिर, घ्यू, बटर, दही उत्पादन गर्दै आएको उद्योगले जनाएको छ ।
यस उद्योगबाट दैनिक १३ केजी छुर्पी, ७० केजी बटर, मागअनुसार घ्यू, १०० लिटर दही, २०० लिटर दूधको पनिर उत्पादन गर्ने गरिएको दुग्ध प्रशोधन उद्योगका प्रमुख अनिश पोख्रेलले जानकारी दिए ।
बिहानै गाउँ वरिपरिका किसान दूधका साना र ठूला क्यान बोकेर सहकारीमा दूध बिक्री गर्न आउँछन् । अहिले यो उनीहरुको दैनिकी नै बनेको छ । सहकारी संस्थामा बिहान झिसमिसेदेखि नै कर्मचारी काममा व्यस्त देखिन्छन् । कोही दूध जोखेर खरिद गर्ने स्थानमा हुन्छन् भने कोही दुग्ध प्रशोधन उद्योगमा काम गरिरहेका हुन्छन् । यहाँ पुग्दा सबैलाई बिहानैदेखि कामको निकै चटारो भएको देख्न सकिन्छ ।
उद्योगमा दही, घ्यू, पनिर, छुर्पी उत्पादनका लागि दूध प्रशोधन गर्ने काम भइरहने सहकारीका व्यवस्थापक शशी लम्सालले बताउनुभयो । यहाँबाट प्रशोधन गरिएको दूधजन्य उत्पादनको बिक्रीमा समस्या नरहेको उनले बताए ।
आर्थिक वर्ष २०७७र७८ मा ‘नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना, विकेन्द्रीकृत आयोजना सहयोग इकाई’ हेटौँडाको ५० प्रतिशत अनुदान सहयोगमा दुग्ध प्रशोधन उद्योग स्थापनाका लागि काम सुरु गरिएको थियो । सहकारीलाई नै उद्योगका रूपमा सञ्चालन गर्ने गरी विसं २०७८ माघ २७ गते उद्योग दर्ता गरी विसं २०७९ पुस १३ गतेबाट भवन निर्माणलगायत काम सकेर सञ्चालनमा ल्याइएको उनले जानकारी दिए।
भवन निर्माण र उद्योगमा व्यवस्थापनका लागि एकाइबाट रू एक करोड सहयोग लिएर काम थालिएको भन्दै थप रू डेढ करोड लगानी गरेर दूध प्रशोधनका लागि आवश्यक सामाग्रीको व्यवस्था गरिएको दुग्ध सहकारीका अध्यक्ष अर्जुन दाहालले जानकारी दिए । ‘एक हजार लिटर क्षमताको दुग्ध प्रशोधन उद्योग तथा भवनका लागि अनुदान लिएर काम थालिएको हो,’ उनले भने।
सुरुआती दिनमा यस सहकारीले दूध चिस्याउने काम गरेर बिक्री गर्दै आएको थियो भने हाल दुग्धजन्य पदार्थ उत्पादन गरेर गाउँबाट नै उत्पादन गरी सहरसम्म बिक्री गरिरहेको अध्यक्ष दाहालले बताए । उद्योग स्थापनाले यहाँका युवालाई रोजगारी दिनुका साथै स्थानीय उत्पादनलाई ठूला सहरमा बिक्री गर्ने वातावरणसमेत बनेको उनको भनाइ थियो ।
उद्योगमा उत्पादन भएका सामग्री हेटौँडा, काठमाडौँ, पोखरालगायत सहरमा बिक्री गर्ने गरिएको अध्यक्ष दाहालले जानकारी दिए । उनका अनुसार दैनिक यस क्षेत्रका ४५१ किसानले सहकारीमा दूध बिक्री गर्दै आएका छन् । ‘सहकारीमा ३४८ जना शेयर सदस्य छन् । यहाँ दूध प्रशोधन तथा दूध खरिद बिक्रीलगायत क्षेत्रमा गरी १३ जनाले रोजगारीसमेत पाएका छन्,’ उनले भने । जिल्लामा रहेका दुग्ध सहकारी संस्थामध्ये मनकामना उत्कृष्ट संस्थाका रूपमा पुरस्कृत भएको अध्यक्ष दाहालको भनाइ थियो ।रासस