बिजुली पोलका असरल्ल तार हटाउन अझै ६ महिना लाग्ने

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका बिजुली पोलमा रहेका अव्यवस्थित तार हटाउन कम्तीमा ६ महिना लाग्ने भएको छ । महानगरले आगामी असारभित्रै सबै तार हटाइसक्ने लक्ष्य राखे पनि अनुमान गरिएभन्दा धेरै तार असरल्ल अवस्थामा भेटिएपछि सबै हटाउन ६ महिना लाग्ने भएको हो ।

पोलमा हुने आगजनी नियन्त्रण गर्न र सहरको सौन्दर्य बढाउन काठमाडौं महानगरले नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायकको सहकार्यमा गत वैशाख १५ देखि अव्यवस्थित तार व्यवस्थित गर्न सुरू गरेको थियो ।

महानगरपालिकाका सहायक प्रवक्ता दीपक अधिकारीका अनुसार अहिले महानगरका मात्रै ५० जनाको टोली तार हटाउने काममा लागेको छ । साथै, इन्टरनेट सेवा प्रदायक कम्पनीहरूका कर्मचारी पनि खटिएका छन् ।

महानगरपालिकाले आगामी असार मसान्तभित्र तार हटाइसक्ने लक्ष्य राखे पनि धेरै तार अलपत्र अवस्थामा हुँदा अझै थप ६ महिना समय लाग्न सक्ने उनले बताए ।

‘हामीले असार मसान्तभित्र तार हटाउने लक्ष्य राखेका थियौँ, तर सोचेभन्दा बढी तार भेटियो, त्यो सबै हटाउन कम्तीमा अझै ६ महिना लाग्न सक्छ,’ अधिकारीले चाणक्य पोष्टसँग भने ।

उनले त्रिपुरेश्वर, माइतीघर, महाराजगञ्ज, बानेश्वर, अनामनगर, थापाथली, टेकु, कोटेश्वर लगायतका झण्डै १५ स्थानहरूमा तार हटाउने काम चलिरहेको बताए ।

हालसम्म महानगरपालिकाले १८ ट्रिपर तार हटाएर टेकुमा डम्प गरिसकेको उनले बताए । उनले उक्त तारहरू पुनः प्रयोग गर्न नमिल्ने भएकाले फ्याक्नु पर्ने अवस्था आएको बताए ।

बिजुलीका पोलमा झुण्डिएका तारहरूमध्ये झण्डै ७० प्रतिशत बढी तार प्रयोगविहिन रहेको महानगरपालिकाले जनाएको छ ।

काठमाडौंका बिजुलीका पोलमा बिजुली, इन्टरनेट, केबल लगायतका तार अलपत्र अवस्था झुण्डिँदा सहर कुरुप बन्दै गएको अवस्थामा हानगरले तार हटाउन थालेको हो । तार परिवर्तन गर्ने बेलामा पुरानो तार नहटाइ त्यसैमा अन्य तार थप्दै जाँदा प्रयोगविहीन तार थुप्रिँदै गएको हो ।

महानगरले अव्यवस्थित तार हटाउन पटकपटक ताकेता गरे पनि दूरसंचार सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायकले अटेरी गर्दै आएका थिए । तर, महानगर आफैं ती तार हटाउन सक्रिय भएपछि उनीहरू पनि सहमतिमा आएका थिए । अहिले इन्टरनेट प्रदायक र महानगरले सहकार्य गरी तार हटाइरहेका छन् ।

विद्युतीय तार भूमिगतको काम पनि जारी

यता, नेपाल विद्युत् प्राधिकरणले बिजुलीका तार भूमिगत गर्ने काम गरिरहेको छ । प्राधिकरणले २०७७ फागुनदेखि काठमाडौंका बिजुलीको तार भूमिगत गर्न सुरू गरेको हो ।

प्राधिकरणले पहिलो चरणमा अन्तर्गत अहिले रत्नपार्क र महाराजगञ्ज क्षेत्रमा बिजुलीका तर भूमिगत गरिरहेको छ । १ वर्षभित्र नै ती क्षेत्रको तार भूमिगत गर्ने भनिएकोमा कोरोना, ठेकेदारको ढिलासुस्ती लगायत कारणले अझै सम्पन्न हुन सकेको छैन ।

उपत्यकाको ४०० किलोमिटर क्षेत्रका १ लाख घरधुरीमा विद्युतीय तार भूमिगत गर्ने प्राधिकरणको योजना छ । विद्युत वितरण प्रणालीलाई भूमिगत गर्न एसियाली विकास बैंक (एडीबी) ले १५ अर्ब रुपैयाँ ऋण सहयोग गरेको छ । विद्युत् वितरण भूमिगत भएपछि अहिले जस्तो सडकमा तार देखिने छैन ।

 

मलेखु-मुग्लिन सडकखण्ड विस्तार सुरू, बजार क्षेत्रमा ६ लेनको बनाइने Read Previous

मलेखु-मुग्लिन सडकखण्ड विस्तार सुरू, बजार क्षेत्रमा ६ लेनको बनाइने

नेप्सेमा थप ५ कम्पनीको बोनस सेयर सूचीकृत Read Next

नेप्सेमा थप ५ कम्पनीको बोनस सेयर सूचीकृत