अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले जेठ १ गतेदेखि आयोजना प्रभावित क्षेत्र लमजुङका स्थानीय बासिन्दाका लागि बिक्रीमा ल्याएको सेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले २ करोड २० लाख रुपैयाँ बराबरको २ लाख २० हजार कित्ता सेयर निष्काशन गरेको हो ।

सो आइपीओमा लमजुङको मर्स्याङदी गाउँपालिका (साविकका घनपोखरा गाविस वडा नं. १ र २, खुदी गाविस वडा नं. ३, ताघ्रिङ गाविस वडा नं. ४, घेरमु गाविस वडा नं. ५, बाहुन डाँडा गाविस वडा नं. ६, भुलभुले गाविस वडा नं. ७ र ८ तथा सिमपानी गाविस वडा नं. ९) का बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

कम्पनीको आइपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । स्थानीयले सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंक, एनएमबी बैंक, कामना सेवा विकास बैंक र हिमालयन बैंकका तोकिएका शाखा कार्यालयकाबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। आइपीओ निष्काशनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी इस्युअर’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले हाल २.४ मेगावाटको माथिल्लो स्याङ्गे खोला साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यसको कुल अनुमानित लागत ५० करोड ४८ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २१ करोड ३ लाख रुपैयाँ रहेको छ।

कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ खुल्यो Read Previous

कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ खुल्यो

मलेखु-मुग्लिन सडकखण्ड विस्तार सुरू, बजार क्षेत्रमा ६ लेनको बनाइने Read Next

मलेखु-मुग्लिन सडकखण्ड विस्तार सुरू, बजार क्षेत्रमा ६ लेनको बनाइने