७ करोड खर्चेर बलेवा विमानस्थल चिटिक्क, जहाज उड्ने टुंगो छैन

७ करोड रुपैयाँ लागतमा कालोपत्र गरिएको बागलुङ बलेवा विमानस्थलको धावनमार्ग । २०७८ चैतमै कालोपत्र सम्पन्न गरिए पनि अझै नियमित उडान हुन सकेको छैन ।

ढोरपाटन । बागलुङ बलेवा विमानस्थल कालोपत्र गरेर रङरोगनले चिटिक्क परेको एक वर्ष बढी भयो । धावनमार्ग कच्ची हुँदा निरन्तर सञ्चालन हुन नसकेको यो विमानस्थल कालेपत्र गरिसक्दा पनि विमान कहिले सञ्चालन हुन्छ भन्ने अत्तोपत्तो छैन ।

विसं २०२२ मा स्थानीयले श्रमदान गरी तयार गरेको विमानस्थल २०४८ सालसम्म सञ्चालनमा थियो । विसं २०४८ मा बागलुङ–पोखरा–राजमार्ग निर्माण भएर गाडी चल्न थालेपछि विमानस्थल बन्द भयो ।

छब्बीस वर्षदेखि बन्द भएको विमानस्थल बागलुङ नगरपालिकाले २०७४ चैत ९ गतेदेखि पुनः सञ्चालनमा ल्यायो । त्यसबेला नेपाल एयरलाइन्स तथा तारा एयरलाइन्सका जहाजले केही महिना नियमित उडान भरे । धावनमार्ग कच्ची हुँदा विमान उडाउन समस्या आएपछि उडान रोकिएको थियो ।

लामो समयदेखि बन्द रहेको बलेवा विमानस्थल सञ्चालनका लागि धावनमार्ग कालोपत्र गरेपछि स्थानीयमा नियमित विमान सञ्चालन हुने आश पलाएको थियो । तर अहिलेसम्म सञ्चालनका लागि कुनै पहल नहुँदा उनीहरु निराश छन् ।

विसं २०७८ चैतमा विमानस्थलको सात सय मिटर लम्बाइ र ३० मिटर चौडाइ धावनमार्ग कालोपत्र गरिएको थियो । धावनमार्ग कालोपत्रसँगै पेन्टिङ र छेउछाउ तारबारसमेत गरिएको छ । धावनमार्ग नागरिक उड्डयन प्राधिकरणको रु ७ करोड लागतमा काष्ठमण्डप उमा एण्ड कम्पनी जेभी बल्खुले कालोपत्र गरेको थियो ।

लामो समयसम्म पनि विमानस्थलमा जहाज नआउँदा प्रयोग नभई जीर्ण बन्ने जोखिम छ । राज्यले चासो नदिँदा करोडौँ रुपैयाँका पूर्वाधार प्रयोगविहीन बनेका स्थानीय कुमार पौडेलले बताए ।

पछिल्लो समय बलेवा क्षेत्रबाट बसाइँसराइ तीव्ररूपमा भइरहेकाले विमानस्थल सञ्चालनमा आए त्यो क्रम रोकिने पौडेलको भनाइ छ । उनी भन्छन्, ‘विमानस्थल सञ्चालन गर्नकै लागि राज्यले यति ठूलो रकम खर्चेको छ, तर जहाड उडानको कुनै टुङ्गो छैन ।’ बलेवा बजारका रूपमा विकास भएको छ ।

पर्यटकीय हिसाबले उत्तिकै फड्को मार्दैछ, तर जहाज नचल्दा यहाँका स्रोतसाधान गुमानाम छन्, यस क्षेत्रका स्रोत र साधानको प्रयोग गरी आर्थिक उपार्जन, पर्यटन विकास र अन्य सुविधाका लागि विमानस्थल सञ्चालन गर्न जरुरी छ ।

बागलुङ नगरपालिका–१४ का अध्यक्ष चक्रबहादुर खत्रीले धवनमार्ग बनेको यतिका समयसम्म विमान सञ्चालन नहुनु दुःखद् भएको बताए। विमानस्थल सञ्चालनका लागि मन्त्री, सांसदहरूसँग पटक–पटक माग गरे पनि सुनुवाइ नभएको गुनासो गरे । यहाँदखि नियमित विमान सञ्चालनमा आए बलेवावासीको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका बन्दै रोजगारका अवसर सिर्जना हुने र धार्मिक पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने उनको भनाइ छ ।

‘पहिले यहाँका स्थानीयले खनेरै यति ठूलो विमानस्थल बनाए, उतिबेला अहिलेको जस्तो मेसिन आएका थिएनन् तर पनि विमान चलेको थियो, अहिले मेसिन आए काम पनि भयो तर विमान आएन,’ अध्यक्ष खत्रीले भने । विमानस्थलबाट २०४८ सालसम्म काठमाडौं, पोखरा, भैरहवा र जोमसोमका लागि जहाजले उडान भर्ने गरेको थियो । बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का सातामा एकपटक भए पनि उडानको योजना रहेको बताउँछन् ।

कालीगण्डकी करिडोरसँग जोडिएको विमानस्थल पुग्न बागलुङ बजारबाट १२ किलोमिटर सडक कच्ची छ । कालीगण्डकी करिडोर कालोपत्र हुन सकेमा विमानस्थल सञ्चालनका लागि यात्रुको अभाव नहुने उनको भनाइ छ ।

विमानस्थल सञ्चालनमा आए बागलुङ, पर्वत र म्याग्दीका नागरिकलाई यातायातमा सहज पहुँच हुनुका साथै यहाँको पर्यटन र आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ । रासस

आँखुखोला जलविद्युतको हकप्रद संशोधन Read Previous

आँखुखोला जलविद्युतको हकप्रद संशोधन

हवाई टिकटमा लगाइएको भ्याट फिर्ता गर्न नाट्टाको माग Read Next

हवाई टिकटमा लगाइएको भ्याट फिर्ता गर्न नाट्टाको माग