खानेतेलको मूल्य लिटरमै १५ रुपैयाँ बढ्ने, उद्योग बन्द गर्ने चेतावनी

काठमाडौं । सरकारले खानेतेलको कच्चा पदार्थको भन्सार महसुल ९ गुणाले बढाएपछि उद्योगी व्यवसायीले गम्भीर आपत्ति जनाएका छन् । बुधबार नेपाल वनस्पति घिउतेल उत्पादक संघले विञप्ति जारी गर्दै भन्सार महसुल वृद्धिको विरोध गरेका हुन् ।

सरकारले आर्थिक विधेकमार्फत खानेतेलको कच्चा पदार्थमा लागने भन्सार महसुल १ प्रतिशतबाट बढाएर १० प्रतिशत पुर्याएको छ । यसरी भन्सार बढाउँदा खानेतेलको मूल्य प्रतिलिटर १५ रुपैयाँसम्म बढ्न जाने संघले जनाएको छ ।

संघले उपभोक्ताको भान्सामा नै असर पर्नेगरी ल्याइएको बजेटको व्यवस्था फिर्ता गर्न माग गरेको छ । खानेतेलको कच्चा पदार्थमा भन्सार महसुल दर साविक बमोजिम १ प्रतिशत नै कायम गर्नका लागि संघले जोडदार माग गरेको छ ।

स्वदेशी तेल महँगो हुँदा भारतबाट अनधिकृत रुपमा गुणस्तरहीन तेल भित्रिने र स्वदेशी उद्योग समेत धरासयी बन्ने संघको भनाइ छ ।

‘भारत सकारले जेठ १० गतेबाट उच्च महँगीबाट जनतालाई राहत दिन खानेतेलको भन्सार महसुल शून्य र जीएसटी ५ प्रतिशत मात्रै कायम गरेको छ’ संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘नेपालमा भने कच्चा पदार्थमा १० प्रतिशत भन्सार महसुल र मूल्यअभिवृद्धि कर १३ प्रतिशत गरी सरदर २५ प्रतिशत कायम गरिएकाले यसबाट स्वदेशी उद्योगको उत्पादन लागतमा वृद्धि हुन गई भारतबाट अनाधिकृत रुपमा छ्यापछ्याप्ति कम गुणस्तरका तेल भित्रिन गई राजस्वमा उल्टै क्षति पुग्ने र स्वदेशी उद्योगलाई प्रतिकूल असर पर्नेछ ।’

यो समस्या सरकारले यथाशीघ्र समाधान नगरेमा स्वदेशमा वनस्पति घिउ तेल उत्पादन गर्ने उद्योगहरू बन्द हुन जाने र अर्थतन्त्रलाई असर पर्ने संघले चेतावनी दिएको छ ।

संघका अनुसार देशभर २६ वटा घिउ, तेल उद्योग सञ्चालनमा छन् । यी उद्योगमा करिब १ खर्ब रुपैयाँ लगानी रहेको र १५ हजारले रोजगारी पाएको संघले जनाएको छ ।

विश्व बैंकबाट साढे १८ अर्ब ऋण र अनुदान लिन सम्झौता Read Previous

विश्व बैंकबाट साढे १८ अर्ब ऋण र अनुदान लिन सम्झौता

विद्युतीय ट्याक्सी ‘एक्सप्रेस-टी’मा जीपीएस, मोबाइलबाटै गाडीको अवस्था हेर्न मिल्ने Read Next

विद्युतीय ट्याक्सी ‘एक्सप्रेस-टी’मा जीपीएस, मोबाइलबाटै गाडीको अवस्था हेर्न मिल्ने