काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्र दाङ र रोल्पाका स्थानीय बासिन्दाका लागि प्रिमियम मूल्यमा वैशाख १९ गतेदेखि विक्रीमा ल्याएको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि प्रतिकित्ता ४०० रुपैयाँ दरले (अंकित मूल्य १०० मा ३०० रुपैयाँ प्रिमियम थपेर) ३ लाख ९७ हजार १९० कित्ता सेयर विक्रीमा ल्याएको हो ।
सो सेयरमा दाङको घोराही उपमहानगरपालिका (वडा नं. १, २, ३, ४, १४, १५, १७, १८,१९), बंगलाचुली गाउँपालिका (वडा नंं ३ र ४० र रोल्पाको त्रिवेणी गाउँपालिका (वडा नं. ३ र ४) का बासिन्दाहरुले आवेदन दिन पाउने छन् ।
कम्पनीको आइपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । स्थानीय बासिन्दाले घोराही सिमेन्ट इण्डष्ट्री, नबिल बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, हिमालयन बैंक, नेपाल एसबीआइ बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक, कुमारी बैंक, एनएमबि बैंक, सानिमा बैंक र ज्योति विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । आइपीओ निष्काशनको लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी ट्रिपल बी माइनस इस्यूअर’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।