काठमाडौं । सेयर बजारमा पहिरो गएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा यसअघि एफपीओ र मर्जरबाट प्राप्त आम्दानीको कर तिर्नुपर्ने व्यवस्था गरेपछि नेप्सेमा पहिरो गएको हो ।
यो व्यवस्थापछि यसअघि मर्जरमा गएका र एफपीओ जारी गरेका संस्थाहरुले थप कर तिर्नुपर्ने भएको छ । जसकारण ती संस्थाहरुको नाफा झनै प्रभावित हुने भएको छ ।
सूचकमा उच्च गिरावट आए पनि कारोबार रकम भने उत्साहजनक रहेको छ । आज २ अर्ब ३४ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।
मंगलबार नेप्से परिसूचक ५३.१६ अंकले घटेर १८८८.६१ विन्दुमा आइपुगेको छ । यसदिन २७५ कम्पनीको ७० लाख ७४ हजार २५५ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा धेरै ३.५० प्रतिशतले घटेको छ ।
आज शिवम् सिमेन्टको सेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । यसको २१ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।
घट्दो बजारमा पनि आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आत्मनिर्भर लघुवित्त र बीपीडब्ल्यू लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
उच्च अंकले घटेको बजारमा अहिले श्वेतगंगा हाइड्रोपावरका सेयरधनीले सर्वाधिक ९.२६ प्रतिशत गुमाएका छन् । त्यसैगरी, सामुदायिक लघुवित्त ८.७२, सयपत्री हाइड्रोपावर र आदर्श लघुवित्तका सेयरधनीले ७ प्रतिशत गुमाएका छन् ।