काठमाडौं । चालु आर्थिक वर्षमा औद्योगिक क्षेत्र (उत्पादनमूलक उद्योग)को उत्पादन २ प्रतिशत ऋणात्मक हुने भएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आइतबार संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षणमा यस्तो अनुमान गरिएको हो ।
चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा औद्योगिक क्षेत्रको योगदान ५.३ प्रतिशत रहने अर्थमन्त्री महतले बताए ।
पछिल्लो १० आर्थिक वर्षमा औद्योगिक उत्पादनको वृद्धिदर वार्षिक औषत ३.३ प्रतिशत र कुल गार्हस्थ्य योगदान वार्षिक औसत ५.६ प्रतिशत रहेको छ।

२०७९ फागुनसम्म कुल ८ हजार ९४७ उद्योग दर्ता भएका छन्। तीमध्ये ठूला, मझौला र साना उद्योगको हिस्सा क्रमशः १५.१ प्रतिशत, २३.१ प्रतिशत र ६१.८ प्रतिशत रहेको सर्वेक्षणमा उल्लेख छ । फागुनसम्मको कुल प्रस्तावित लगानी २७ खर्ब ८३ अर्ब रुपैयाँ छ ।
गत फागुनसम्म दर्ता भएका उद्योगको सङ्ख्याको आधारमा उत्पादनमूलक, सेवामूलक र पर्यटन उद्योगको हिस्सा क्रमशः ३७.४ प्रतिशत, २६.२ प्रतिशत र २१.९ प्रतिशत रहेको छ भने सबैभन्दा कम पूर्वाधार सम्बन्धी उद्योगको हिस्सा ०.७ प्रतिशत रहेको छ।