सार्वजनिक संस्थानमा ६.१८ खर्ब लगानी गरेको सरकारले पायो १ प्रतिशत लाभांश

काठमाडौं । सरकारले सार्वजनिक संस्थानमा सेयर र ऋण गरी ६ खर्ब १८ अर्ब रुपैयाँ लगानी गरेको छ ।अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन अनुसार सरकारले ४४ वटा सार्वजनिक संस्थानमा गत असार मसान्तसम्ममा उक्त रकम लगानी गरेको हो ।

अर्थमन्त्री महतका अनुसार नेपाल सरकारको लगानी रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २५ वटा नाफामा छन् भने १७ वटा घाटामा छन् । सरकारले गत आर्थिक वर्षमा सार्वजनिक संस्थानबाट रू ६ अर्ब १६ करोड बराबरको लाभांश लिएको छ । जुन लगानीको १ प्रतिशत बराबर मात्रै हो ।

अर्थमन्त्री महतले सन् २०२३ मा विश्वको अर्थतन्त्र नै समस्यमा परेकाले त्यसको असर नेपालको अर्थतन्त्रमा पनि परेको बताए ।‘अन्तर्राष्ट्रिय आर्थिक परिवेश र संरचनात्मक समस्याका कारण थोक तथा खुद्रा व्यापार, निर्माण, उत्पादनमूलक उद्योगको उत्पादनलगायत समग्र आर्थिक क्रियाकलापमा सङ्कुचन भई चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशत हुने अनुमान छ,’ उनले भने ।

वस्तु आयातमा भएको सङ्कुचन र समष्टिगत मागमा आएको कमीका कारण आर्थिक गतिविधिमा सुस्तता आइ स्रोत व्यवस्थापनमा पनि दबाब देखिएको उनले बताए ।

विश्व बजारमा पेट्रोलियम पदार्थ, खाद्यान्न तथा कच्चापदार्थको मूल्यमा भएको वृद्धिका कारण पनि समस्या देखिएको अर्थमन्त्री महतले बताए । बाह्य क्षेत्रमा सुधार भएर शोधनान्तर स्थिति बचतमा, विदेशी मुद्राको सञ्चिति बढेको, पर्यटन आवागमन बढेकोलगायत अर्थतन्त्रमा सकारात्मक सङ्केत पनि देखिन थालेको उनले बताए ।

आर्थिक सर्वेक्षणमा सङ्घीय सरकारबाट निर्माण भएको सडकको लम्बाइ ३४ हजार १०० किलोमिटर पुगेको, कूल जडित विद्युत् क्षमता २ हजार ६६६ मेगावाट पुगेको उल्लेख छ ।

साथै आधारभूत तहमा विद्यार्थी भर्नादर बढेको, खुद मातृ मृत्युदर तथा नवजात शिशु मृत्युदर घटेकोलगायतका सूचकहरु उनले प्रस्तुत गरे । आधारभूत खानेपानी सुविधा र विद्युत् सेवामा ९५ प्रतिशत नागरिकको पहुँच पुगेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

अर्थमन्त्री डा. महतले आजै सार्वजनिक संस्थानको वर्तमान कार्यसम्पादनको अवस्था, वित्तीय अवस्था र समस्या तथा चुनौतीको विश्लेषण सहितको प्रतिवेदन पनि प्रतिनिधिसभामा पेस गरेका छन् ।

‘विगतमा सार्वजनिक संस्थानले मुलुकको आर्थिक सामाजिक तथा पूर्वाधार विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भए पनि समयक्रममा खासगरी सञ्चालन एवम् व्यवस्थापनमा देखा परेका कमि कमजोरीका कारण समग्र वित्तीय स्थिति सन्तोषजनक नरहेको अवस्था छ,’ अर्थमन्त्री महतले भने ।

७५६ मेगावाटकाे तमोर जलविद्युतकाे ढिलाइ बारे चिनियाँ कम्पनीलाई पत्राचार गरिँदै Read Previous

७५६ मेगावाटकाे तमोर जलविद्युतकाे ढिलाइ बारे चिनियाँ कम्पनीलाई पत्राचार गरिँदै

चालु वर्षमा औद्योगिक उत्पादन २% ऋणात्मक हुने (आर्थिक सर्वेक्षणको पूर्णपाठ) Read Next

चालु वर्षमा औद्योगिक उत्पादन २% ऋणात्मक हुने (आर्थिक सर्वेक्षणको पूर्णपाठ)