कालीगण्डकी करिडोर : गैँडाकोट-राम्दीखण्डको ९० प्रतिशत काम पूरा

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरअन्तर्गत गैँडाकोट–राम्दी खण्ड निर्माणको काम ९० प्रतिशत पूरा भएको छ । यस खण्डका केही स्थानमा कालोपत्र र ‘रोड मार्किङ’को काममात्र बाँकी रहेको जनाइएको छ ।

कालीगण्डकी करिडोर, गैँडाकोट–राम्दी–मालढुङ्गा सडक योजनाका प्रमुख शङ्कर पौडेलले गैँडाकोट–राम्दी खण्डमा १६ किलोमिटर खण्डमात्र कालोपत्र गर्न बाँकी रहेको बताए।

‘एक्जिम बैंक अफ इन्डियाको रु ५ अर्ब ऋण सहयोगमा यस खण्ड निर्माणको काम सुरु भएको थियो,’ उनले भने, ‘योजनाको म्याद यही जेठ ३० गतेसम्म रहेको छ, जम्मा १३१ किलोमिटर खण्डमध्ये हालसम्म ११५ किलोमिटर खण्डमा कालोपत्र गरिएको छ ।’ पाल्पामा चार किलोमिटर तथा बाँकी नवलपुर खण्डमा कालोपत्र गर्न बाँकी रहेको योजनाप्रमुख पौडेलले बताए ।

‘बाँकी रहेको कालोपत्र तथा रोड मार्किङको काम अबको १५/२० दिनभित्र सकिन्छ,’ उनले भने, ‘तर गैँडाकोट–राम्दी खण्डका विभिन्न छ स्थानमा गरी एक हजार आठ सय मिटर खण्डमा पहिराका कारण कालोपत्रको काम गर्न सम्भव छैन ।’

यस खण्डमा ठूला–चार र साना दुई पहिरो रहेकाले यहाँ पहिरो रोकथामसँगै कालोपत्रका लागि पछि ठेक्का आह्वान गरिने योजनाप्रमुख पौडेलले बताए । लामो समय भइसक्दासमेत गैँडाकोटको ढोडेनी क्षेत्रको सडक किनारमा रहेका रूख कटानका लागि  वन विभागबाट अनुमति नपाइएकाले रूख नकाटी सडक कालोपत्र गर्ने तयारी भइरहेको उनको भनाइ थियो ।

‘सात मिटर चौडाइ रहेको यस सडकमा नवलपुरको गैँडाकोटबाट पाल्पाको राम्दीसम्म नै सवारीसाधन सञ्चालन भइरहेको छ । यस सडकमा रुट परमिट छैन तर स्थानीयवासीको सहजताका लागि सवारीसाधन सञ्चालन भइरहेका छन्,’ योजनाप्रमुख पौडेलले भने, सडक निर्माणको काम इन्फ्रास्ट्रक्चर लिमिटेड इन्डियाले गरेकाले   योजनाको म्याद सकिनासाथ पुनः अर्को ठेक्का आह्वान गरेर पहिरो भएको स्थानमा पहिरो रोकथामसँगै कालोपत्र सुरु गरिने छ ।’

योजनाको समग्र प्रगति ५० प्रतिशत

नवलपुरको गैँडाकोटबाट उत्तरमा चीनको कोरला जोड्ने नाकाका रुपमा रहेको यस सडकको दक्षिण खण्डको समग्र प्रगति ५० प्रतिशत सकिएको छ । कालीगण्डकी करिडोर, गैँडाकोट–राम्दी–मालढुङ्गा सडक योजनाका योजनाप्रमुख शङ्कर पौडेलका अनुसार ४४० किलोमिटर लामो यस सडक निर्माणका लागि दुईवटा कार्यालयबाट काम भइरहेको छ ।

गैँडाकोट–राम्दी–मालढुङ्गा (दक्षिण) खण्डको २४० किलोमिटरका लागि पाल्पा कार्यालय तथा मालढुङ्गा–कोरला (उत्तर) खण्डको दुई सय किलोमिटर खण्डका लागि जोमसोम कार्यालयबाट काम भइरहेको उनले बताए ।

‘गैँडाकोट–राम्दी–मालढुङ्गा सडकअन्तर्गत राम्दी–रानीमहल खण्डमा ट्र्याक खोल्ने काम सकिए पनि यहाँ यातायात सञ्चालन गर्न सकिएको छैन,’ योजनाप्रमुख पौडेलले भने, ‘यो खण्ड स्तरोन्नति गर्नुपर्ने भएकाले अर्थ मन्त्रालयसँग बजेट माग गरेका छौँ ।’ रानीमहल–मालढुङ्गा खण्डमा विभिन्न स्थानमा फरक फरक ठेक्का लगाएर सडक निर्माणको काम भइरहेको र त्यहाँको जम्मा भौतिक प्रगति ५० प्रतिशत पुगेको उनको भनाइ थियो ।

‘गैँडाकोट–राम्दी–मालढुङ्गा खण्डमा ५७ वटा पुल निर्माण गर्नुपर्नेमा हालसम्म २७ वटा पुल निर्माण भइसकेको छ,’ योजनाप्रमुख पौडेले भने, ‘पन्ध्र वटा पुल निर्माणको चरणमा छन् । यसका लागि  बोलपत्र आह्वान गर्नुपर्ने भएको छ ।’ पर्वतको फलेवास खण्डमा १४ किलोमिटर सडक स्तरोन्नतिका लागि नयाँ ठेक्का आह्वान गर्नुपर्ने रहेको उनको भनाइ थियो । तराईलाई हिमाली जिल्लासँग जोड्ने कालीगण्डकी करिडोरको ८० किलोमिटर सडक नवलपुर खण्डमा पर्दछ ।रासस

 

 

दुई निर्जीवन बीमा कम्पनीको सेयर कारोबार रोक्का, अब नयाँ नामबाट किनबेच हुने Read Previous

दुई निर्जीवन बीमा कम्पनीको सेयर कारोबार रोक्का, अब नयाँ नामबाट किनबेच हुने

भन्सार प्रशासनलाई चुस्त बनाउन चेम्बरको माग Read Next

भन्सार प्रशासनलाई चुस्त बनाउन चेम्बरको माग