उपत्यकामा दुई फ्लाइओभर निर्माण धमाधम, यस्तो छ प्रगति

सांकेतिक तस्वीर

काठमाडौं । नेपालमै पहिलोपटक बन्न लागेका दुई फ्लाइओभर निर्माण धमाधम भइरहेको छ । नागढुंगा–नौबिसे सुरूङमार्ग आयोजनाको प्रवेशद्धार बलम्बु र ललितपुरको ग्वार्कोमा फ्लाइओभर निर्माणले गति लिएको हो ।

मुआब्जा विवादका कारण लामो समय रोकिएको बलम्बु फ्लाइओभर निर्माणले अहिले गति लिन थालेको हो । नागढुंगा सुरूङमार्ग आयोजनाका प्रवक्ता रमेश कोइरालाले फ्लाइओभर निर्माण धमाधम भइरहेको बताए ।

उनका अनुसार फ्लाइओभरका सबस्ट्रक्चर र फाउन्डेसन बनाउने काम धमाधम भइरहेको बताए । हालसम्म ३ वटा फाउन्डेसन र २ वटा सबस्ट्रक्चर निर्माण भइसकेको उनले जानकारी दिए ।

आयोजना भित्र ५ वटा सबस्ट्रक्चर बनाउनु पर्नेमा हालसम्म २ वटा मात्र पूरा भएको उनले बताए । साथै, बक्स कल्भर्ट, ओभरपास लगायत पूर्वाधार निर्माणको काम गरिरहेको छ ।

‘फ्लाइ ओभर निर्माणको काम भइरहेको छ, फाउन्डेसन र सबस्ट्रक्चर निर्माण गर्ने कामलाई गति दिएका छौँ,’ उनले भने । ८ महिना भित्र फ्लाइओभर निर्माण सम्पन्न गर्नेगरी काम सुरू गरिसकेको प्रवक्ता कोइरालाले बताए ।

दुई लेनको फ्लाइओभर १२८ मिटर लामो हुने छ । एउटा लेन ३.५ मिटरको हुनेछ । १२८ मिटर फ्लाइओभरबाट करिब ३ किमी पहुँच (एक्सेस) सडकमार्फत काठमाडौंतिरको पोर्टलमा पुग्न सकिन्छ ।

नागढुंगा–नौबिसे सुरूङमार्गको मुख्य ठेकेदार कम्पनी हाज्मा–आन्दो कर्पोरेशन लिमिटेडले नै बलम्बुको फ्लाइओभर निर्माण गरिरहेको छ । नागढुंगा–नौबिसे सुरूङमार्ग जान र सुरूङमार्गबाट काठमाडौं आउनको लागि यो फ्लाइओभरको प्रयोग गरिने छ ।

ग्वार्को फ्लाइओभर

गत फागुनदेखि निर्माण थालिएको ग्वार्को फ्लाइओभरको काम पनि धमाधम भइरहेको छ । यस फ्लाइओभर निर्माण अन्तर्गत अहिले पहिलो चरणका कामहरू भइरहेका छन् ।

सडक विभाग अन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका इन्जिनीयर रबेन्द्र श्रेष्ठले ग्वार्को फ्लाइओभरको फाउन्डेसन निर्माणका लागि खाल्डो खनेर माटो निकाल्ने काम भइरहेको बताए ।

१४ महिनाभित्र काम सक्ने लक्ष्य रहेको यस आयोजनाको अन्य कामहरू पनि भइरहेको उनले बताए । कोटेश्वर–कलंकी ८ लिन सडकको दायाँबायाँको लेनबाट सवारी आवतजावत गर्ने व्यवस्था गरी बीचको लेनमा माटो निकाल्ने काम भइरहेको छ ।

ट्राफिक व्यवस्थापनका लागि वैकल्पिक डाइभर्सनको व्यवस्था गरिएको छ । यो फ्लाइओभर १७ करोड ६८ लाख ८८ हजार ८ सय ८ रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्नेगरी एम/एस आशिष–समानान्तर जेभीले ठेक्का पाएको छ ।

फ्लाइओभर इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण भइरहेको छ । काम सुरू भएको २ वर्षमा निर्माण सक्ने गरी निर्माण भइरहेको छ । ४५५ मिटर लम्बाइ हुने गरी फ्लाइओभर चक्रपथको बीचमा रहेको ४ लेनमा समानान्तर भएर निर्माण हुनेछ ।

 

कुमारी बैंकको झन्डै १५ लाख कित्ता सेयर लिलामीमा, आइपीओकै भाउमा किन्ने अवसर Read Previous

कुमारी बैंकको झन्डै १५ लाख कित्ता सेयर लिलामीमा, आइपीओकै भाउमा किन्ने अवसर

कर असुलीका लागि संयन्त्र बनाएर अनुगमन गर्दै कामपा Read Next

कर असुलीका लागि संयन्त्र बनाएर अनुगमन गर्दै कामपा