काठमाडौं । वाग्मती प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडादर समायोजन गरेको छ । नेपाल आयल निगमले गत साता डिजेलको भाउ प्रतिलिटर १० रुपैयाँ घटाएसँगै प्रदेश सरकारले पनि सार्वजनिक सवारीको भाडा घटाउने निर्णय गरेको हो ।
वाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले काठमाडौं उपत्याकाभित्र चल्ने सार्वजनिक यात्रुवाहक सवारीको भाडा ५.९ प्रतिशतले घटाएको छ ।
यसअघि काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक गाडीमा चढ्ने बित्तिकै न्यूनतम १८ रूपैयाँ भाडा तिर्नु पथ्र्यो भने अब १७ रुपैयाँ तिर्नुपर्नेछ ।
यसैगरी, मन्त्रालयले उपत्यका बाहिर चल्ने सार्वजनिक सवारीसाधनको ४.१८ प्रतिशत र मालवाहक सवारीसाधनको ५.६९ प्रतिशत भाडा घटाएको छ ।
मन्त्रालयको उक्त निर्णय राजपत्रमा प्रकाशित भएपछि घटेको भाडादर लागू हुनेछ । यसअघि केन्द्र सरकारले सार्वजनिक यात्रुवाहक सवारीसाधनमा ३.२० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा ४.६५ प्रतिशतले भाडा घटाइएको थियो ।