वैशाखमा मात्रै ३ हजार २०० विदेशीले गरे मनाङ भ्रमण

मनाङ । हिमाली जिल्ला मनाङमा नयाँ वर्ष २०८० को पहिलो महिनामा सबैभन्दा बढी इजरायलका पर्यटकले भ्रमण गरेका छन् । जोखिमयुक्त पदमार्गमध्ये विश्वकै १०औँ स्थानमा पर्ने अन्नपूर्ण पदमार्गमा इजरायली पर्यटकले भ्रमण गरेका हुन् ।

नेपाल आउने पर्यटकमध्ये अधिकांश पर्यटक यहाँ पुग्ने गरेका छन् । जिल्लामा वर्षको पहिलो महिनामा सबैभन्दा बढी इजरायलका नागरिकले भ्रमण गरेका अन्नपूर्ण क्षेत्र संरक्षण क्षेत्र आयोजना (एक्याप)का तमकाशी गुरुङले जानकारी दिए । उनका अनुसार ५५१ इजरायली नागरिकले मनाङ भ्रमण गरेको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै, ३४९ फ्रान्सका नागरिकले भ्रमण गरेका छन् । रसियन ३३२, युनाइटेड किङडम –यूएस)का २०२, अमेरिकाका १९५, जर्मनीका १७७, अष्ट्रेलियाका १७३, भारतका १२९, नेदरल्यान्डका १२९ सहित ७३ देशका नागरिकले मनाङ भ्रमण गरेका अन्नपूर्ण क्षेत्र संरक्षण क्षेत्र आयोजना (एक्याप)का प्रमुख लेखनाथ गौतमले जानकारी दिए ।

उनका अनुसार वैशाखमा मात्रै ७३ राष्ट्रका १हजार ९३० पुरुष र एक हजार ३५८ महिला तथा एक अन्य गरी कूल ३ हजार २८९ नागरिकले मनाङ भ्रमण गरेका छन् । ‘विगतमा कोभिड–१९ को सङ्क्रमण र बाढीपहिराको जोखिमले गर्दा पर्यटकको आवागमन ठप्प रहेकामा अहिले चलायमान भएको छ,’ प्रमुख गौतमले भने ।

कोभिड–१९ को सङ्क्रमणपश्चात् सहज बनेको जनजीवनले गर्दा अहिले विश्वका पर्यटक नेपाल आउने क्रम जारी छ । विभिन्न देशका नागरिक नेपाल भित्रिने क्रममा विशेषगरी मनाङको अन्नपूर्ण पदमार्ग यात्रामा अउने गरेका छन् । विश्वकै जोखिम पदमार्गका रुपमा परिचित यहाँ यात्राका लागि विदेशी पर्यटक विशेषगरी आउने गरेको एक्यापका प्रमुख गौतमले बताए ।

विगतमा एक पनि मनाङको जोखिम स्थलमा भ्रमण आउने पर्यटकलाई समस्या हुने गरेको थियो । अहिले बर्सात समय सुरुआत भएकाले पदमार्गको यात्रा गर्दा सम्भाव्य जोखिमका बारेमा जानकारी गराएर पठाउने गरेको गौतमले बताए ।

‘पर्यटक एक्लै यात्रामा जाँदा बिरामी पर्ने, हराउने र जोखिम क्षेत्रमा खोजी कार्य गर्न समस्या भएपछि नेपाल सरकारले गाइड बिना यात्रामा जान रोक लगाएको छ, अहिले गाइड लिएर मात्रै पर्यटक आउने वा यात्रा गर्ने गरेका छन्,’ उनले भने, ‘यो प्रावधानले हामीलाई पनि सहज भएको छ ।’

गाइड भएपछि सूचना पाउन सहज भएको उनले बताए । यात्राका क्रममा पर्यटक बिरामी परेको खण्डमा गाइडको सहयोग हुने हुँदा सहज हुने गरेको पर्यटक बताउँछन् । पर्यटकको आवागमन बढेपछि मनाङका होटल तथा पर्यटन व्यवसायीमा खुसी छाएको छ । केही समयअगाडि मात्रै मनाङ पर्यटकको आवागमन बढेसँगै होटल पाउन सकस भएको पर्यटन व्यवसायी विनोद गुरुङले बताए। पर्यटक वृद्धि हुँदा मनाङको आयस्तरसमेत बढी हुने गरेको छ ।

पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नाका साथै मनाङबाट थोराङ्ला पास गरी मुस्ताङ र कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका-७ मनाङ्गे चौतारामा रहेको छ ।

अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी ५ जिल्ला जोडिएका छन् । काठमाडौँदेखि बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् । पदमार्गमार्फत मनाङका विभिन्न स्थानको अवलोकनसहित यात्रामा जाने गरेका छन् ।रासस

७० सहकारीले तिरेनन् सरकारसँग लिएको ऋण, ३५ दिनभित्र तिर्न अल्टिमेटम (नामसहित) Read Previous

७० सहकारीले तिरेनन् सरकारसँग लिएको ऋण, ३५ दिनभित्र तिर्न अल्टिमेटम (नामसहित)

बन्दीपुर केबलकारको परीक्षण सुरू, नियमित संचालन कहिलेदेखि ? Read Next

बन्दीपुर केबलकारको परीक्षण सुरू, नियमित संचालन कहिलेदेखि ?