दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत हालसम्म १८ सुरुङ खन्ने काम सकिएको छ । आयोजनाको प्याकेज–२ अन्तर्गत हालसम्म १८ सुरुङ खन्ने काम सकिएको हो ।
त्यस्तै एउटा सुरुङ खन्ने काम जारी रहेको आयोजना प्रमुख राजभाइ शिल्पकारले जानकारी दिए। आयोजनाका अनुसार १ हजार ३८३.८२ मिटरको प्रवेश सुरुङ, २७० मिटरको मुख्य प्रवेश सुरुङ, ३५६ मिटरको मुख्य सुरुङतर्फको अडिट सुरुङ–१, १०२.७ मिटरको मुख्य सुरुङतर्फको अडिट सुरुङ-२, २१८ मिटरको मुख्य सुरुङतर्फको अडिट सुरुङ–३ र ४३७.१२ मिटरको सर्जट्याङ्कतर्फको सुरुङ खन्ने काम शतप्रतिशत सकिएको छ ।
एक हजार ४५६ मिटरको हेडरेस सुरुङमध्ये हालसम्म ८७३.८ मिटर सुरुङ खनिसकिएको छ भने खन्ने कार्य जारी रहेको आयोजनाले जनाएको छ । त्यस्तै, २२०.५४ मिटरको पेनस्टक सुरुङ, ३८.२० मिटरको मुख्य सुरुङको पेनस्टक तल्लो भाग, ६७ मिटरको पेनस्टक साफ्ट, २०.६ मिटरको वाइफरकेशन पेनस्टक तल्लो भाग, ४७.३७ मिटरको पेनस्टक वाइफरकेशन-१, ४७.३७ मिटरकै पेनस्टक वाइफरकेशन-२ सुरुङको काम सकिएको छ ।
१०४.६ मिटरको ड्राफ्ट ट्युब सुरुङ, ५२.३ मिटरको ट्रेलरेस ड्राफ्ट सुरुङ–१, ५२.३० मिटरकै ट्रेलरेस ड्राफ्ट सुरुङ–२, २१०.९ मिटरको ट्रेलरेस सुरुङ, १८८ मिटरको केबल सुरुङ र ३१५ मिटरको बाँधतर्फ जाने पहुँच सुरुङ खन्ने काम शतप्रतिशत सकिएको छ ।
सोही प्याकेज अन्तर्गतको विद्युत्गृह कङ्क्रिटिङ, ट्रेलरेस कङ्क्रिटिङ, केबल सुरुङ कङ्क्रिटिङ, ड्राफ्ट ट्युब सुरुङ कङ्क्रिटिङको काम चलिरहेको आयोजनाले जनाएको छ । आयोजनाको प्याकेज-२ अन्तर्गत नै हाइड्रोमेकानिकल कार्यको ठाडो सुरुङमा पेनस्टक पाइप जडान काम भइरहेको छ । हालसम्म २४.६ मिटर जडान गरिएको आयोजना प्रमुख शिल्पकारले बताए ।
प्याकेज–२ अन्तर्गत सिनो हाइड्रो कर्पोरेसन चीनले भूमिगत विद्युत्गृह, मुख्य सुरुङ र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका कार्य गरिरहेको छ । यो प्याकेजको निर्माण कार्यका लागि सिनो हाइड्रो कर्पोरेशनसँग विसं २०७५ असोज १५ गते युएस डलर १४ करोड १ लाख ८८ हजार नौ सय ५८ र नेपाली रु तीन अर्ब ८३ करोड १३ लाख ६० हजार ३६१ मा खरिद सम्झौता भएको थियो ।
खरिद सम्झौता बमोजिम निर्माण कार्य सुरु गर्न कार्यादेश जारी गरेपश्चात् सिनोले विसं २०७५ माघ ६ गतेबाट आयोजनास्थलमा परिचालित भई निर्माण कार्य जारी राखेको छ । प्याकेज–१ अन्तर्गत डाइभर्सन सुरुङ-१ को माथिल्लो भाग वारपार (ब्रेक थ्रु) भएपश्चात् हाल यसलाई सडक सुरुङको रुपमा प्रयोगमा ल्याइएको जनाइएको छ ।
त्यस्तै, रकबोल्ट जडान, गुणस्तर परीक्षण तथा थप सटक्रिटका कार्य जारी रहेको आयोजनाले जनाएको छ । प्रवेश सडकतर्फ सेती नदीको दायाँ किनारतर्फबाट बाँधको माथिल्लो भागतर्फ जाने प्रवेश सडकको किनारामा नाली निर्माण, ग्याबिन राख्ने लगायतका कार्य गरिएको आयोजनाले जनाएको छ ।
स्लोप खन्ने काम अन्तर्गत दायाँतर्फ आवश्यक सपोर्टसहित इलिभेसन तह स्लोप खन्ने कार्य इलिभेसन तह ४३० मिटरमा पुगेको छ भने बायाँतर्फ सटक्रिट, वारमेश तथा रिब्स जडानसहित खन्ने कार्य जारी रहेको जनाइएको छ । प्याकेज–३ अन्तर्गत प्रसारण लाइन निर्माणका क्रममा हालसम्म ५५ वटा टावरको जग हाल्ने कार्य सकिएको छ ।
तेत्तीस वटा टावर जडान कार्य भएको छ भने ०.९८८३ किलोमिटर तार तान्ने काम सम्पन्न भएको आयोजना प्रमुख शिल्पकारले जानकारी दिए। ९ वटा टावरको जग संरक्षण सम्पन्न भएको, एक स्थानमा टावर जडान, एक स्थानमा संरक्षण कार्य र सात स्थानमा जग हाल्ने कार्य भइरहेको उनले बताए ।
दमौली भरतपुर २२० केभी प्रसारण लाइन अन्तर्गत चितवनमा टार प्याड निर्माणका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणका लागि मुआब्जा रकम वितरण सुरु भएको जनाइएको छ ।
प्याकेज-१ अन्तर्गत डाइभर्सन सुरुङको माथिल्लो भाग वारपार भएपश्चात् हाल यसलाई आवतजावतका लागि सडक सुरुङको रुपमा प्रयोगमा ल्याइएको छ । यो प्याकेज अन्तर्गत डाइभर्सन सुरुङ–१ आउलेट स्लोभ तथा पोर्टल, डाइभर्सन सुरुङ-२ आउलेट स्लोभ तथा पोर्टल, डाइभर्सन सुरुङ-१ इनलेट स्लोभ तथा पोर्टल तथा डाइभर्सन सुरुङ–२ इनलेट स्लोभ तथा पोर्टलको काम सम्पन्न भइसकेको छ ।
आयोजनाको समग्र निर्माण विसं २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।रासस