चीन र अमेरिकाले एक अर्काको सामानमा लगाउँदै आएका अतिरिक्त भन्सार शुल्क चरणबद्ध रुपमा घटाउने सहमति गरेका छन् ।
‘विगत दुई हप्तामा उच्चतहका वार्ताकारहरुले गम्भीर र रचनात्मक छलफल गरेर अतिरिक्त भन्सार शुल्क चरणबद्ध रुपमा घटाउने सहमति भएको छ,’ प्रवक्ता गाओ फेङले बताए, ‘यदि चीन र अमेरिकाले पहिलो चरणको सम्झौता गरे भने दुवैले अहिले कायम रहेको शुल्क समानुपातिक रुपमा एकैपटक घटाउनुपर्नेछ । यो नै अहिले भएको सहमतिको मूल मर्म हो ।’
अमेरिकाले पनि यसको पुष्टि गरेमा उनीहरुबीच चलेको व्यापार युद्धलाई घटाउने रोड म्यापको रुपमा यो सहमति आउन सक्छ । यी दुवै देशको व्यापार युद्धले विश्वव्यापी आर्थिक मन्दी निम्त्याउन सक्ने आंकलन भइरहेको छ ।
यो समाचार सार्वजनिक भएसँगै हङकङको सेयर बजार ०.६ प्रतिशतले बढेको छ भने युरोपियन सेयर बजारहरु पनि बढेका छन् ।

‘अहिलेको प्रश्न भनेको यी दुई पक्षले के कुरामा सहमति गरेका छन् भन्ने नै हो । अब भोली वा आगामी केही दिनमा अमेरिकाले कस्तो टिप्पणी गर्छ भन्नेमा नै बजारले आँखा लगाइरहेको छ,’ अर्थशास्त्री टमि जी बताउँछन्,‘लगानीकर्ताहरु पर्ख र हेरको स्थितिमा छन् ।’
दुवै पक्ष कहाँ र कसरी पहिलो चरणको सम्झौतामा हस्ताक्षर गर्ने भनेर वार्तामा रहेको प्रवक्ता गाओले बताएका छन् । ह्वाइट हाउसले ट्रम्प र सीको बैठक इओवा वा अलास्कामा गर्ने प्रस्ताव गरे पनि चीनले त्यसलाई अस्वीकार गरेको बताएको छ । त्यसैले एसिया वा युरोपको कुनै देशमा भेट्ने बारेमा छलफल भइरहेको बताइएको छ ।
ट्रम्प प्रशासनका उच्च अधिकारीहरुले वृहत व्यापार सम्झौता यसै महिनामा हुनेमा आफू आशावादी रहेको बताएका छन्, जसले यो हप्ता सेयर बजारमा सकारात्मक प्रभाव पारकोे छ ।
एक वर्ष भन्दा बढी समय देखि चलिरहेको यो व्यापार युद्धका बारेमा लगानीकर्ताहरु थप आश्वस्त हुन चाहेका छन् । ‘म शंकाको दृष्टिले यो प्रक्रिया कसरी अगाडी बढ्छ भनेर नियालीरहेको छु,’ हङकङ स्थित अर्थशास्त्री आइरिस प्याङ बताउँछन्,‘कति छिटो शुल्क घट्छ भन्ने कुराले नै दीर्घकालिन रुपमा दुवै अर्थतन्त्र र विश्व बजारमा सकारात्मक प्रभाव ल्याउँछ’ ।