निजी क्षेत्रकै ठूलो हाइड्रो संचालनमा ल्याएको साहस ऊर्जाको नाफा आधा घट्यो, ईपीएस कति ?

काठमाडौं । साहस ऊर्जा लिमिटेडको खुद नाफामा उच्च गिरावट आएको छ । कम्पनीले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रोे त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ५४.३९ प्रतिशतले घटेको छ ।

चालु वर्षको चैत मसान्तसम्म कम्पनीले २६ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा झन्डै ३२ करोड रुपैयाँ कम हो । कम्पनीले गत वर्षको चैतसम्म ५८ करोड १३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

विद्युत् विक्री आम्दानी हुन थाले पनि कम्पनीको सर्भिस कन्सेसन एग्रिमेन्ट आम्दानी र संचालन नाफा घट्दा नाफामा असर परेको हो । समीक्षा अवधिमा कम्पनीको सर्भिस कन्सेसन एग्रिमेन्ट आम्दानी ३ अर्ब ६७ करोडबाट घटेर १ अर्ब ८९ करोड रुपैयाँमा सीमित भएको छ ।

त्यस्तै, कम्पनीको संचालन नाफा २९.०८ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा कम्पनीको संचालन नाफा ५८ करोड १३ लाखबाट घटेर ४१ करोड २२ लाख रुपैयाँमा सीमित भएको छ ।

कम्पनीले निजी क्षेत्रकै हालसम्मको सबैभन्दा ठूलो ८६ मेगावाटको सोलुखोला दूधकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी २०७९ फागुन १७ गतेदेखि व्यवसायिक उत्पादन सुरु गरिसकेको छ । चैतसम्म आयोजनाबाट उत्पादित २१ करोड ८० लाख रुपैयाँको बिजुली बिक्री गरेको र सो रकम नेपाल विद्युत् प्राधिकरणबाट भुक्तानी हुन बाँकी रहेको कम्पनीले जनाएको छ ।

हाल ३ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिजर्भ कोषमा २ अर्ब ३६ करोड रुपैयाँ संचिति छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १०.१० रुपैयाँ, प्रतिसेयर नेटवर्थ पनि १६७.६९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५१.२९ गुणा रहेको छ ।

 

नागढुंगा-नौबिसे सुरुङ खन्ने काम ८२ प्रतिशत सकियो, अब कति मिटर बाँकी छ ? Read Previous

नागढुंगा-नौबिसे सुरुङ खन्ने काम ८२ प्रतिशत सकियो, अब कति मिटर बाँकी छ ?

चीनका सहरमा चार्टर्ड उडान हुने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित Read Next

चीनका सहरमा चार्टर्ड उडान हुने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित