काठमाडौं । राष्ट्रिय गौरव आयोजना नागढुंगा–नौबिसे सुरुङमार्ग अन्तर्गत सुरुङ खन्ने काम तीन चौथाईभन्दा बढी सम्पन्न भएको छ । हालसम्म सुरुङ खन्ने काम ८२ प्रतिशत सम्पन्न भएको हो । यद्यपि, समग्रमा आयोजनाको ५३.५४ प्रतिशत मात्रै सम्पन्न भएको छ ।
नागढुंगा नौबिसे सुरुङमार्ग आयोजनाका अनुसार जेठ ३ गतेसम्म सुरुङ खन्ने काम ८२.२० प्रतिशत पूरा भएको छ । कुल ५ हजार ४९९ मिटर सुरुङमार्ग (वर्किङ अडिट र क्रस प्यासेजसहित) रहेकोमा हालसम्म ४ हजार ५२०.६५ मिटर निर्माण सम्पन्न भएको हो ।
आयोजनका अनुसार हालसम्म मुख्य सुरुङ अन्तर्गत २ हजार ६८८ मिटर मुख्य मध्ये हालसम्म २ हजार २.६० मिटर खनिसकिएको छ । आयोजनाको काठमाडौंतर्फ ९२५.८० मिटर र धादिङतर्फ १०७६.८० मिटर मुख्य टनेल खनिएको छ ।
त्यसैगरी, २ हजार ५५७ मिटर आपतकालीन (स्केप टनेल) सुरुङ खन्नुपर्नेमा हालसम्म २ हजार ३०५.८० मिटर सुरुङ खनिसकिएको छ । काठमाडौंतर्फ १ हजार १२२१.७० मिटर र धादिङतर्फ १०८४.१० मिटर सुरुङ खन्ने काम पूरा भएको छ ।
हालसम्म कुल ४ हजार ३०८.४ मिटर सुरुङमार्ग, १२६ मिटर वर्किङ अडिट र ८६.२५ क्रस प्यासेज गरी कुल ४ हजार ५२०.६५ मिटरको काम सम्पन्न भएको छ ।
त्यस्तै, धादिङतर्फ १२६ मिटर वर्किङ अडिट निर्माण भएको छ । त्यसैगरी, कुल ८६.२५ मिटर क्रस प्यासेज निर्माण भएको छ । जसमा काठमाडौंतर्फ ३८.१ मिटर र धादिङतर्फ ४८.१५ मिटर निर्माण गरिएको छ ।
हालसम्म समग्रमा ५३.४२ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । त्यस्तै, वित्तीयतर्फ ५८.३२ प्रतिशत प्रगति भएको छ ।
आयोजना अन्तर्ग कुल ५ हजार ४९९ मिटर सुरुङमार्ग निर्माण गर्नुपर्नेमा अझै ९७८.३५ मिटर निर्माण गर्न बाँकी रहेको छ । सुरुङको हरेक ३०० मिटरमा मेन टनेल र स्केप टनेल जोड्ने क्रस प्यासेज बनाइएको छ । सुरुङमार्गभित्र हरेक ३०० मिटरमा ७ वटासम्म क्रस प्यासेज बनाइने छ ।
नेपालकै पहिलो सुरुङमार्गको रूपमा रहेको यस आयोजनाको काठमाडौंतिरको पोर्टल चन्द्रागिरी नगरपालिका-१ को टुटीपाखामा रहेको छ भने धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा छ । टनेलमा मुख्य दुई वटा लेन हुनेछ । बीचमा थप एउटा सानो साइड लेन छ । सवारी साधन बिग्रिए साइड लगाउन उक्त लेन प्रयोग हुनेछ ।
