बदिर्याको जब्दीघाटमा नयाँ पुल बनाइने, १० दिनभित्रै ठेक्का प्रक्रिया सुरू

काठमाडौं । बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया जोड्ने जब्दीघाटमा नयाँ पुल बन्ने भएको छ । ठेकेदारले गुणस्तरहीन निर्माण सामग्री प्रयोगका कारण उद्घाटन नहुँदै भासिएको उक्त भएको ठाउँबाट ५०० मिटर पर नयाँ पुल बनाउने तयारी गरिएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले १० दिनभित्र टेन्डर आह्वान गर्ने गरी तयारी भइरहेको बताए । ‘जब्दीघाटको पुल नयाँ ठाउँमा बन्ने छ, पुरानै ठाउँमा भत्काएर बनाउने अवस्था छैन, त्यसलाई अहिले भएको पुल भन्दा ५००/६०० मिटर पर बनाइने छ,’ उनले भने ‘१० दिनभित्र हामी ठेक्का आह्रवान गर्ने छौँ ।’

सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले नयाँ पुल निर्माण भएको ३ वर्ष हाराहारीमा पूरा हुने बताए । उनले सार्वजनिक खरिद नियमलाई पालना गरेर ठेक्का लगाउनुपर्ने बताए ।

‘पुरानो पुल उपयोग योग्य छैन । त्यो विषय हाल अदालतमा छ । अदालतले दिएको निर्णय अनुसार त्यो पुल हटाउने कि त्यतिकै छोड्ने भन्ने थाहा हुन्छ,’ महानिर्देशक ढकालले भने ।

२०७४ साउन ३० गते बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया जोड्ने जब्दीघाट पुल भत्केको थियो । पुल भत्किएको ६ वर्षपछि भत्कीएको पुल हटाएर नयाँ पुल बनाउन लागिएको हो ।

पुल बनाउन माग गर्दै सांसद सञ्जय गौतम भत्किएकै पुल मुनि अनसनमा बसेका थिए । सो पश्चात सडक विभागका महानिर्देशक सहितको टोली जब्दीघाट पुगेर नयाँ पुल बनाउने निर्णय भएको थियो । यो पुल पप्पु कन्स्ट्रक्सनले साढे १६ करोड बढी लागतमा बनाएको थियो । ४३५ मिटर लामो र ७.४ मिटर चौडा यो पुल उद्घाटन हुनु अघि भत्किएको हो ।

प्राविधिक तथा कर्मचारीको चरम लापरवाहीमा बनेको यो पुल नयाँ ठेक्कामा ‘डिजाइन एण्ड बिल्ट’ मोडलमा बन्न लागेको हो । पुल निर्माणका क्रममा निर्माण सामग्रीहरूको गुणस्तर नियन्त्रण प्रभावकारी नभएको र डिजाइन बमोजिम निर्माण नगरेको कारण लोड थाम्न नसकी पुल भासिएको प्राविधिक परीक्षण तथा विश्लेषणबाट पुष्टि भएको अख्तियारको दाबी थियो ।

मन्त्री ज्वालाले सबै आयोजनालाई गति दिइने बताए । उनले आयोजनाको प्रकृति हेरेर आवश्यक्ता अनुसार बजेट विनियोजन गरी निर्माणलाई निरन्तरता दिने बताए ।

 

अर्थतन्त्रको लागि खतरनाक बन्दै हुन्डी, नियन्त्रण गर्न यस्तो गर्नुपर्छ Read Previous

अर्थतन्त्रको लागि खतरनाक बन्दै हुन्डी, नियन्त्रण गर्न यस्तो गर्नुपर्छ

स्टार्ट अप उद्यम कर्जा पाउन २१३ कम्पनी अयोग्य Read Next

स्टार्ट अप उद्यम कर्जा पाउन २१३ कम्पनी अयोग्य