६ महिनापछि वैशाखमा घट्यो कित्ताकाट, चालु वर्षमा ४ लाख टुक्रा पारियो

काठमाडौं । गत असोजदेखि महिनैपिच्छे लगातार बढिरहेको जग्गाको कित्ताकाट वैशाखमा भने घटेको छ । वैशाख ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले यथास्थितिमै कित्ताकाट खुलाउने निर्णय गरे पनि त्यो कार्यान्वयन हुन नसक्दा कित्ताकाट घटेको हो ।

पछिल्लो ६ महिनायता लगातार उकालो लागेको कित्ताकाट वैशाखमा भने ब्रेक लागेको छ । वैशाखमा ३१ हजार ६९४ जमिनलाई कित्ताकाट गरी ७० हजार ६१७ टुक्रा पारिएको छ । चैतमा ३७ हजार ९९३ कित्ता जग्गालाई ८५ हजार ९७ कित्ता टुक्रा पारिएको थियो ।

चैतको तुलनामा वैशाखमा घरजग्गा किनबेचमा पनि गिरावट आएको थियो । चैतमा ४९ हजार १५० घरजग्गा किनबेच भएकोमा वैशाखमा घटेर ४२ हजार ४६१ मा सीमित भएको छ ।

व्यवसायीहरुका अनुसार जग्गाको कित्ताकाट ओरालो लाग्नुको कारण सरकारको अस्थिर नीति, जग्गाको कारोबारमा कमी आउनु, बैंकबाट सहजै ऋण नपाउनु, आर्थिक संकट लगायत रहेको छ ।

सरकारले वैशाख ५ भूउपयोग नियमावली संशोधन गरेर साविककै अवस्थामा जमिनको कित्ताकाट खुला गर्ने निर्णय गरेको थियो । तर, जग्गाको कित्ताकाट खुला गर्ने उक्त निर्णय मन्त्रिपरिषद्, विकास समिति हुँदै मन्त्रालयमै फर्किएपछि कार्यान्वयनमा जान सकेन । त्यसको असर व्यवसायी अन्योलमा पर्दा कित्ताकाटमा कमी आएको हो ।

सरकारले २०७९ जेठमा भूउपयोग नियमावली कार्यान्वयनमा ल्याएसंगै कित्ताकाट सुस्ताएको थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत मंसिर २३ सम्म सबै स्थानीय तहलाई आफ्नो क्षेत्रभित्रको जग्गा कृषि र गैरकृषि क्षेत्रमा वर्गीकरण गर्न निर्देशन दिएको थियो ।

मन्त्रालयको निर्देशन अनुसार सबै स्थानियतहले जग्गाको वर्गीकरण नगरेपछि घरजग्गा व्यवसायमा सिथिलता देखिएको छ ।नियमावली अनुसार मंसिरभित्रै सबै तहले जमिन वर्गीकरण गर्नुपर्ने भए पनि हालसम्म करिब करिब ३० प्रतिशत स्थानीय तहले मात्र कृषि र गैरकृषि क्षेत्र छुट्याएका छन् ।

विभागका अनुसार हालसम्म करिब २०० स्थानीय तहले जमिन वर्गीकरण सकेका छन् । यद्यपि, केही सहरी क्षेत्रका पालिकाकाले वर्गीकरण सकाइ कित्ताकाट खुला गरेका छन् ।

गत जेठदेखि ओरालो लागेको घरजग्गा कारोबार चालु आवको पुसदेखि क्रमशः सुधार आइरहेको थियो । तर, वैशाखमा भने सो क्रम रोकिएको छ ।

कुन महिना कति कित्ताकाट ?

विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको १० महिनामा कुल १ लाख ९५ हजार जमिनलाई टुक्रयाएर ४ लाख २९ हजार पारिएको छ । गत वर्षको सोही अवधिमा ६ लाख २६ हजार जमिनलाई खण्डीकरण गरेर १४ लाख ५३ हजार टुक्रा पारिएको थियो ।

चालु वर्षको चैतमा सबैभन्दा धेरै कित्ताकाट भएको छ । यो महिना ३७ हजार ९९७ कित्ता जमिन टुक्राएर ८५ हजार ९७ टुक्रा बनाइएको थियो ।

फागुनमा २७ हजार ३१ कित्ता जमिन टुक्र्याएर ६० हजार ३६१ टुक्रा, माघमा २४ हजार ५६९ कित्तालाई ५४ हजार ७७८ टुक्रा, पुसमा २१ हजार ७८४ जग्गालाई टुक्रयाएर ४९ हजार १०४ टुक्रा पारिएको विभागले जनाएको छ ।

त्यस्तै, मंसिरमा १३ हजार २२१ वटा जग्गालाई कित्ताकाट गरी ३० हजार ८२७ टुक्रा, साउनमा ८ हजार ७८५ जग्गालाई कित्ताकाट गरी १५ हजार ३०५ टुक्रा, भदौमा १० हजार ९२२ कित्ताकाट गरी २१ हजार ८७७ टुक्रा, असोजमा ९ हजार ४२६ जमिनलाई १९ हजार १७८ टुक्रा र कात्तिकमा १० हजार ५४४ जमिनलाई २२ हजार ३६५ टुक्रा पारिएको विभागको तथ्यांक छ ।

नेशनल लाइफले तोक्यो बुकक्लोज, कहिलेसम्म सेयर किन्नेले पाउँछन लाभांश ? Read Previous

नेशनल लाइफले तोक्यो बुकक्लोज, कहिलेसम्म सेयर किन्नेले पाउँछन लाभांश ?

आदर्श लघुवित्तलाई गाभ्न डिप्रोक्सले पायो अन्तिम स्वीकृत, स्वाप रेसियो कति ? Read Next

आदर्श लघुवित्तलाई गाभ्न डिप्रोक्सले पायो अन्तिम स्वीकृत, स्वाप रेसियो कति ?