काठमाडौं । सेयर बजारमा झिनो अंकको कमब्याक भएको छ । यस साताको सुरुको दुई दिनमा २० अंकले घटेको नेप्से आज ३ अंकले बढेको हो ।
सूचकमा झिनो सुधार आए पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ८ करोडले घटेर ६४ करोडमा सीमित भएको छ ।
मंगलबार २६९ कम्पनीको २० लाख ६३ हजार ७३७ कित्ता सेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ उपसमूहमध्ये अन्य र बैंकिङ बाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ । लघुवित्त उपसमूहको परिसूचक सबैभन्दा धेरै ०.८१ प्रतिशतले बढेको छ ।
आज एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ५ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्ट पौने ३ करोड र नबिल बैंक २ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
झिनो अंकले बढेको बजारमा आज आत्मनिर्भर लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।
त्यस्तै, मायाखोला हाइड्रोपावर ५.७०, हिमालयन ऊर्जा ५.३५, सनराइज फोक्सड इक्वीटी फण्ड, राप्ति हाइड्रोपावर र न्यादी हाइड्रोपावरको सेयर मूल्य ४ प्रतिशतले बढेको छ ।