काठमाडौं । नेपाल स्टक एक्चेन्ज (नेप्से)ले पूर्ण स्वचालित अनलाइन प्रणाली प्रयोगमा ल्याएको १ वर्ष पूरा भएको छ । सेयर बजारमा कायापलट हुने विश्वासकासाथ नेप्सेले निकै तामझामले साथ प्रयोगमा ल्याएको यो प्रणालीले लगानीकर्ताको मन भने खासै जित्न सकेन ।
नेप्सेले अनलाइन कारोबार शुरु गरेपछि १ वर्षको अवधिमा १६ हजार २ सय ३४ लगानीकर्ताले मात्र अनलाइनबाट कारोबार गरेका छन् । नेप्सेले गत वर्षको कात्तिक २० गतेबाट अनलाइन प्रणालीबाट कारोबार शुरु गरेको थियो ।
एक वर्षको अवधिमा अनलाइनबाट कूल १६ अर्ब ५४ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यसैगरी अनलाइन कारोबार सेयर संख्या ५ करोड ८७ लाख रहेको छ भने अनलाइन कारोबार संख्या ३ लाख १३ हजार रहेको छ ।
अनलाइन सेयर कारोबार शुरु भएपछि सेयर बजारले गति लिने आम लगानीकर्ताले आशा गरे पनि नेप्से सोहि अनुरुप बढ्न सकेको छैन । त्यसको ठीक उल्टो नेप्से परिसूचक घट्ने क्रममा रहेको छ । दैनिक कारोबार रकम हेर्दा पनि उल्लासमय वातावरण देखिदैन ।

अनलाइन प्रणाली खरिद गर्ने समयमा पनि धितोपत्र बोर्ड र नेप्सेबीच सवन्मयको अभाव देखिएको थियो भने खरिद पश्चात् प्रणालीमा लामो समयसम्म विभिन्न खाले समस्या देखिएको थियो ।
अनलाइन प्रणाली शुरु गरे पश्चात् विगत १ वर्षमा १२ दिन १ अर्ब रुपैयाँँ भन्दा बढीको सेयर करोबार भएको छ भने १ दिन मात्र २ अर्ब रुपैयाँँ भन्दा बढीको कारोबार भएको छ ।
सेयर बजारले १८८१ को उच्चतम बिन्दु पार गरको समयमा नेपाली सेयरबजारले दैनिक २ अर्ब रुपैयाँँको दैनिक कारोबार रकम सहजै पार गर्ने गरेको थियो भने त्यसपछिको सामान्य अवस्थामा पनि दैनिक १ अर्ब हाराहारी कारोबार भइरहेको थियो ।
तर, अनलाइन कारोबार शुरु भएको पहिलो वर्ष जम्मा १२ दिन मात्र १ अर्ब रुपैयाँँको कारोबार हुनु र २ अर्ब रुपैयाँँको कारोबार १ दिन मात्र हुनुले अनलाइन प्रणालीले यो वर्ष नयाँ लगानीकर्ता भित्राउने सन्दर्भमा पनि प्रभावकारी काम गर्न नसकेको नै पुष्टि हुन्छ ।