काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत होटलहरूको नाफामा उछाल आएको छ । होटलहरूले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार सूचीकृत होटलको नाफा औसतमा १६३१.२० प्रतिशतले बढेको छ ।
चैत मसान्तसम्म सूचीकृत ५ होटलहरूले ७७ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा १७ गुणाले बढी हो । गत वर्ष चैतसम्म यी होटलले ४ करोड ४५ लाख रुपैयाँ मात्र नाफा कमाएका थिए ।
समीक्षा अवधिका होटलहरूको आम्दानी बढ्दा खुद नाफामा उछाल आएको हो । कारोनापछि सुस्त रहेको पर्यटकीय गतिविधि चालु वर्षमा चलायमान हुँदा होटलहरूको आम्दानी उल्लेख्य रुपमा बढेको हो ।
चालु आवमा विदेशी पर्यटक आवगमन बढ्नुका साथै आन्तरिक पर्यटकीय गतिविधमा पनि उल्लेख्य सुधार आएको छ । जसकारण होटलहरूको आम्दानी बढ्न गई नाफामा समेत उछाल आएको हो । सन् २०२३ को ४ महिनामा मात्रै सवा ३ लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
कोभिड अवधिमा पर्यटन व्यवसाय र भौतिक कार्यक्रम ठप्प हुँदा होटलको व्यवसाय पनि धरासाय भएको थियो । कतिपय ठूला होटलहरू खर्च धान्न नसकेर बन्द नै भए । यद्यपि, पछिल्लो समय भने स्टार होटलहरूको व्यापारमा छलाङ लागेको वित्तीय विवरणहरूले देखाउँछ । होटल व्यवसायीहरूका अनुसार अहिले आन्तरिक कार्यक्रम तथा संस्थागत गतिविधिले अकुपेन्सी फुल छ ।
कुन होटलले कति कमाए ?
नेप्सेमा सूचीकृत चन्द्रागिरि हिल्स, सोल्टी होटल, तारागाउँ रिजेन्सी, ओरिअन्टल होटल र कालिन्चोक दर्शनले ९ महिनामा ७७ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । गत वर्षको सोही अवधिमा कुल ४ करोड रुपैयाँ नाफा कमाएका होटलहरूले एक वर्षमा ७२ करोड रुपैयाँले वृद्धि गरेका हुन ।

गत वर्ष डेढ करोड घाटामा रहेको चन्द्रागिरि हिल्स यस वर्ष ७ करोड ७७ लाख नाफामा छ । त्यस्तै गत वर्षको चैत मसान्तसम्म १० करोड खुद नाफा कमाएको सोल्टी होटलले यस वर्ष ३७ करोड नाफा आर्जन गरेको छ । समीक्षा अवधिमा ४ करोड कमाएको तारागाउँ होटलले अहिले २३ कारोड रुपैयाँ कमाएको छ ।
यसैगरी, गत वर्ष १ करोड घाटामा रहेको ओरिअन्टल होटलले ६ करोड नाफा कमाएको छ भने १ करोड कमाएको कालिन्चोक दर्शनको नाफा २२ करोड रपैयाँ पुगेको छ ।
अधिकांश सूचकमा सोल्टीको दबदबा
सूचीकृत ५ होटल मध्ये अधिकांश सूचकमा सोल्टी होटल अगिाडि रहेको छ । रिजर्भ कोष, खुद मुनाफा, खुल आम्दानी, प्रतिसेयर नेटवर्थ लगायत सूचकमा सोल्टी अगाडि रहेको छ ।
समीक्षा अवधिमा सोल्टीले सबैभन्दा धेरै ३७ करोड नाफा कमाएको छ । यो झन्डै अन्य ४ होटलले कमाएको नाफा बराबर हो । त्यस्तै, जगेडा कोष पनि सोल्टीकै सबैभन्दा धेरै १ अर्ब ३ करोड रुपैयाँ छ । जबकी यस अवधिमा चन्द्रागिरी हिल्स र कालिञ्चोक दर्शनको ऋणात्मक छ ।
यस्तै, प्रतिसेयर नेटवर्थमा पनि सोल्टी नै अगाडि छ । प्रतिसेयर अंकित मूल्य १० रुपैयाँ रहेको सोल्टीको नेटवर्थ २१.७१ रुपैयाँ छ । यो भनेको प्रतिसेयर १०० रुपैयाँ हुँदा २१७.१ रुपैयाँ हुन्छ ।
चुक्ता पूँजीको आधारमा भने तारागाउँ रिजेन्सीको सबैभन्दा धेरै १ अर्ब ८८ करोड छ । त्यस्तै, चन्द्रागिरि हिल्सको १ अर्ब ५३ करोड, सोल्टी होटलको ८८ करोड, कालिन्चोक दर्शन ६० करोड र ओरिअन्टल होटलको ११ करोड रुपैयाँ चुक्ता पूँजी छ ।