२ वर्षमा बन्नुपर्ने पुल १० महिनामै सम्पन्न, भुक्तानी दिन बजेट अभाव

त्रिशूली । नुवाकोटको तादी गाउँपालिका–३ खरानीटारबाट वडा नं १ उर्लेनी जोड्न निर्माण गरिएको पक्की पुल निर्माण सम्पन्न भएको छ ।

जिल्लाकै विकट बस्तीको रूपमा रहेको उर्लेनीसम्म यातायातको साधनमार्फत जान मुख्य अवरोध रहेको दोर्खु खोलामा निर्माण पक्की पुल निर्माण गरिएको हो ।

गत साता वाग्मती प्रदेशका मुख्यमन्त्री सालिकराम जमकट्टेलले सो पुलको उद्घाटन गरे । उनले सो क्षेत्रको सडक व्यवस्थित बनाउन आवश्यक बजेट उपलब्ध गराउने बताए ।

‘विकासका लागि सडक पूवार्धार प्रमुख आवश्यकता भएकाले प्रदेश सरकारले सोहीअनुसार प्राथमिकता दिइरहेको छ,’ उनले भने, ‘ग्रामीण क्षेत्रको विकास र दुर्गमबाट सुगम यातायातको पहुँचले भिन्नता बनाउने भएकाले निर्माण गरिएको पक्की पुलमा १२ महिना गाडी चलाउन जीर्ण सडकलाई व्यवस्थित गर्न क्रमशः (बहुवर्षीय) बजेट उपलब्ध गराउने छौँ ।’

दुई वर्षमा सक्नुपर्ने पुल १० महिनामै सम्पन्न

तादीको खरानीटार र उर्लेनीको सीमा हुँदै बगेको दोर्खु खोलामा ४१ मिटर लम्बाइ र ८.४ मिटर चौडाइको पक्की पुल निर्माण सुरु भएको ६ महिनामै सम्पन्न भएको हो ।

विसं २०७९ असार ३० गते पूर्वाधार विकास कार्यालय र जयविष्णु निर्माण सेवाबीच दुई वर्ष (विसं २०८१ असार ३०) भित्र पुल सम्पन्न गर्ने सम्झौता भएको थियो । काम भने सम्झौता भएको १० महिनामै पूरा भएको हो ।

ठाडो खोला र पानीको बहावले साउन १ देखिको सट्टामा काम सुरु गर्न कात्तिक लागेको थियो । पुल निर्माणको काम सुरु भएको ६ महिना नपुग्दै सम्पन्न गरेको जयविष्णु निर्माण सेवाका प्रोप्राइटर अनिल सिलवालले बताए ।

उनका अनुसार २४ महिनामा पूरा गर्नुपर्ने काम जिम्मेवारी पाएको १० महिनामा नै सम्पन्न भयो । पुल निर्माण गर्न ठेक्का लगाएको पूर्वाधार विकास कार्यालयका प्रमुख वीरेन्द्र बज्राचार्यका अनुसार रु ६ करोड ९९ लाख ३९ हजारमा ठेक्का दिएको पुलको निर्माण व्यवसायीलाई रु ५ करोड ६२ लाख भुक्तानी दिन बाँकी छ ।

दुई वर्षमा निर्माण सम्पन्न गर्न भनेर दिएको जिम्मेवारी १४ महिना अगावै पूरा गरेसँगै सोहीअनुसार बजेट नहुँदा भुक्तानी दिन प्रदेश सरकारलाई समस्या भएको हो । रासस

सरकारी स्वामित्वको उदयपुर सिमेन्टले कमायो झन्डै ५ करोड नाफा Read Previous

सरकारी स्वामित्वको उदयपुर सिमेन्टले कमायो झन्डै ५ करोड नाफा

विजय र नयाँ सारथी लघुवित्त बीच मर्जरको अन्तिम सम्झौता, स्वाप रेसियो कति ? Read Next

विजय र नयाँ सारथी लघुवित्त बीच मर्जरको अन्तिम सम्झौता, स्वाप रेसियो कति ?