काठमाडौं । सेयर बजार घट्ने क्रम जारी रहेको छ । पछिल्लो समय निरन्तर ओरालो लागेको बजार आज पनि उही लय समातेको छ ।
साताको अन्तिम कारोबार दिन आज सूचक ६ अंकले घटेपनि कारोबार रकम भने ह्वात्तै बढेको छ । दशैं पछिका दिनहरुमा औसतमा २० करोड रुपैयाँको हाराहारीमा कारोबार हुँदै आएकोमा आज करिब साढे ३७ करोडको कारोबार भएको छ ।
आज एनएमबी बैंकको ठूलो मात्रमा सेयर कारोबार भएकाले कारोबार रकम ह्वात्तै बढेको हो । साढे ५ महिनापछि कारोबार खुलेको एनएमबी बैंककाे सेयरमा लगानीकर्ता झुम्मिएका छन् ।
आज कारोबार भएको कूल रकममध्ये करिब ३० प्रतिशत रकम एनएमबी बैंकको कारोबार भएको छ । एनएमबीको ११ करोडभन्दा बढीको कारोबार भएको छ ।
सेयर बजार मापक सूचक नेप्से ६.०५ अंकले घटेर ११३१.९७ विन्दुमा आइपुगेको छ । आज १६३ कम्पनीको ३७ करोड ४१ लाख ५० हजार ५७१ रुपैयाँको कारोबार भएको छ । १२ लाख ९६ हजार ८७७ कित्ता सेयर किन बेच भएका छन् ।
कारोबार भएका ११ वटा समूहमा तीन वटा समूहको सूचक उकालो लागेका छन् भने बाँकीसबै समूहको सूचक ओरालो लागेका छन् ।

आज व्यापार समूहको सूचक सबैभन्दा धेरै १९ अंकले बढेको छ भने जीवन बीमा समूहको सूचक सबैभ्न्दा धेरै ४०.१२ अंकले घटेको छ ।
कारोबार रकमको आधारमा एनएमबी बैंकको सेयर शीर्ष स्थानमा रह्यो । यसको ११ करोड २६ लाख ४३ हजार २७३ रुपैयाँको कारोबार भएको छ ।
कारोबारकै आधारमा प्रभु बैंक र नेपाल बैंकको साधरण सेयर क्रमशः दोस्रो र तेस्रोमा रहेका छन् ।प्रभुको ५ करोड ६५ लाख र नेपालको २ करोड ८१ लाख रुपैयाँभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ ।
आज ग्लोबल आइएमई सम्मुन्त म्युचुअल फण्डको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसको सेयर मूल्य ९.९६ प्रतिशतले बढेको छ भने रिडि हाइड्रोपावर कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ५.१९ प्रतिशतले घटेको छ ।