एचआइडीसीएलको नाफामा छलाङ, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल)को खुद नाफामा उल्लेख्य वृद्धि भएको छ ।

कम्पनीले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ४५.१६ प्रतिशतले बढेको छ ।

कम्पनीले चैत मसान्तसम्म १ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१ करोड बढी हो । कम्पनीले गत वर्षको चैतसम्म ६९ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

निक्षेपको ब्याजदर बढेका कारण कम्पनीको वित्तीय आम्दानी बढ्दा खुद नाफामा उल्लेख्य सुधार आएको हो । समीक्षा अवधिमा कम्पनीको वित्तीय आम्दानी ४४.७० प्रतिशतले बढेर १ अर्ब ५६ करोड पुगेको छ । त्यस्तै, समीक्षा अवधिमा कम्पनीको लाभांश आम्दानी भने ५.५७ प्रतिशतले घटेर १ करोड ३३ लाख रुपैयाँमा सीमित भएको छ ।

हाल २१ अर्ब ७१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिजर्भ कोषमा २ अर्ब ६६ करोड रुपैयाँ संचित छ । कम्पनीले चैत मसान्तसम्ममा जलविद्युत परियोजनामा ८ अर्ब ७२ करोड ऋण लगानी गरेको छ ।

त्यस्तै, स्वपूँजी लगानी अन्तर्गत सहायक कम्पनी तथा सार्वजनिक एवम् निजी क्षेत्रबाट प्रबद्र्धित जलविद्युत परियोजनाहरुमा ३ अर्ब १३ करोड लगानी गरेको छ भने विभिन्न कम्पनीमा ४१ करोड ५९ लाख रुपैयाँ थप सेयर लगानी गरेको छ।

नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा प्रतिसेयर आम्दानी ४.९६ रुपैयाँबाट बढेर ६.२१ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १०७.०२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३१.४२ गुणा छ।

सिटी होटलको आइपीओ भर्ने आज अन्तिम दिन Read Previous

सिटी होटलको आइपीओ भर्ने आज अन्तिम दिन

साना किसान बन्यो दोस्रो धेरै नाफा कमाउने लघुवित, प्रतिसेयर आम्दानी भने घट्यो Read Next

साना किसान बन्यो दोस्रो धेरै नाफा कमाउने लघुवित, प्रतिसेयर आम्दानी भने घट्यो