अर्थतन्त्र अझै जोखिममा रहेको भन्दै नीतिगत सावधानी अपनाउन आइएमएफको सुझाव

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले नेपालको अर्थतन्त्र अझै जोखिममा रहेकाले नीतिगत सावधानी अपनाउन सुझाव दिएको छ ।

नेपालको अर्थतन्त्रमा बाह्य जोखिम कायम रहेको अवस्थामा मौद्रिक नीतिलाई अझ खुकुलो पार्नेभन्दा पनि अझ बढी व्यवस्थित तुल्याउन आइएमएफले नेपाललाई सुझाएको छ ।

आइएमएफका डेपुटी डिभिजन चिफ टुरुनेन जाक्र्कोले नेपालको आयात क्रमिकरूपमा बढेको अवस्थामा मौद्रिक नीतिलाई खुकुलो बनाउने हो भने त्यसले अर्को समस्या ल्याउनेतर्फ सचेत हुनुपर्नेमा जोड दिए ।

ईसीएफमार्फत परिचालन भएका कार्यक्रमको समीक्षापछि आइएमएफले ५ करोड २८ लाख अमेरिकी डलर बराबरको ऋण निकासा गर्ने घोषणा गरेको छ । आइएमएफको कार्यकारी समिति (एक्जुकेटिभ बोर्ड) बैठकले इसिएफअन्तर्गतको ऋण निकासा दिने निर्णय गरेको थियो ।

आइएमएफका डेपुटी डिभिजन चिफ जाक्र्कोले भने, ‘नेपालको आयात बढिरहेको छ, मूल्य वृद्धि उच्च दरमा छ, अहिले बाह्य जोखिम कायमै रहेकाले खुकुलो मौद्रिक नीति ल्याउन हुँदैन, अर्थतन्त्रलाई राम्रो गर्दैन ।’ उनले देशको आर्थिक अवस्थाबारे निर्णय लिँदा तथ्याङ्कमा आधारित हुने पनि सुझाव दिए।

यसअघि आइएमफले कसिलो मौद्रिक नीतिले बाह्य क्षेत्र व्यवस्थापनमा सघाएको र बजेटको अर्धवार्षिक समीक्षाबाट चालिएका सरकारका कदमले अर्थतन्त्रमा आगामी दिनमा देखिनसक्ने चुनौती सम्बोधन गर्न खोजेको बताइएको थियो ।

राजस्व वृद्धि गर्ने उपाय अवलम्बन गर्न र सहुलियत कर्जा उपलब्ध गराएर देशको अर्थतन्त्रलाई चलायमान बनाउनुपर्नेमा डेपुटी डिभिजन चिफ जाक्र्कोको जोड थियो ।

गौतमबुद्ध विमानस्थलमा आएनन् थप विदेशी एयरलाइन्स, आन्तरिक उडान पनि घट्दै Read Previous

गौतमबुद्ध विमानस्थलमा आएनन् थप विदेशी एयरलाइन्स, आन्तरिक उडान पनि घट्दै

अर्थतन्त्रको संरचनात्मक सुधार आवश्यक छ : अध्यक्ष ढकाल Read Next

अर्थतन्त्रको संरचनात्मक सुधार आवश्यक छ : अध्यक्ष ढकाल