गौतमबुद्ध विमानस्थलमा आएनन् थप विदेशी एयरलाइन्स, आन्तरिक उडान पनि घट्दै

काठमाडौं । गौतमबुद्ध (भैरहवा) अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको १ वर्ष भए पनि अझै एउटा बाहेक विदेशी एयरलायन्स कम्पनी आउन सकेका छैनन् ।

२०७९ जेठ २ देखि व्यावासायिक उडान थालेको नेपालको दोस्रो अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलमामा उडान गर्ने कम्पनीलाई सरकारले विभिन्न छुट दिए पनि जजिरा बाहेक अन्य एयरलाइन्सले उडान गर्न चासो नदेखाएका हुन् ।

हाल सो विमानस्थलमा कुवेतकोे जजिरा एयरवेजले अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले गौतम बुद्ध एयरलाइन्समा ग्राउन्ड ह्याण्डलिङ लगायत विभिन्न सेवामा छुट दिएको छ । तर, यात्रु अभाव, सिधा हवाई रुट नहुँदा विदेशी एयरलाइन्सले चासो नदिएका हुन् ।

केही महिना अघि भैरहवा विमानस्थलबाट विज एयरवेज, थाइल्याण्डको थाई स्माइल लगायतले उडान गर्न चासो देखाए पनि अझै उडान सुरू गरेका छैनन् ।

उक्त विमानस्थलमा व्यवसायिक अन्तर्राष्ट्रिय उडानका लागि विदेशी एयरलाइन्सहरूलाई आकर्षित गर्न विभिन्न छुट सुविधा दिइएको विमानस्थलका सूचना अधिकारी विनोदसिहं रावतले बताए ।

अन्तर्राष्ट्रिय उडानका लागि विमानस्थलले ल्याण्डिङ, पार्किङ, प्यासेजन, फुड, सर्भिलेन्स सबैमा छुटको व्यवस्था गरेको उनले बताए । नेपाल सरकारले नै उडानको लागि भनेर छुटको व्यवस्था गरे पनि अन्तर्राष्ट्रिय उडानका लागि कुनै वायुसेवा व्यवसायी आउन इच्छुक देखिएको छैन । सरकारले यही जेठ २ गते समाप्त भएको उक्त छुटको व्यवस्थालाई २०८१ जेठ २ गतेसम्मका लागि निरन्तरता दिएको छ ।

आन्तरिक उडान पनि घट्यो

सूचना अधिकारी रावतका अनुसार हाल आन्तरिक उडानमा केही कमी आएको छ । यात्रुको संख्या कमी आएका कारण उडानको संख्या समेत घटाइएको उनले जानकारी दिए । सुरूका दिनहरूमा दैनिक २० देखि २५ वटासम्म उडान गरेको भए पनि हाल घटेर ११/१२ मा झरेको उनले बताए ।

‘पहिला धेरैमा २० देखि २५ वटा उडान गरिँदै आएको थियो । अहिले मुस्किलले ११/१२ वटा उडान भइरहेको छ,’ रावतले चाणक्य पोष्टसँग भने ‘अन्तर्राष्ट्रिय उडान त झन सुरू नै भएको छैन । अहिलेसम्म कुनै हवाई कम्पनीले यसमा चासो देखाएका छैनन् ।’

उनले अन्तर्राष्ट्रिय उडान नभएका कारण नाफामा जान नसकेको बताए । विमानस्थलको अप्रेसन खर्च उडान भए पनि नभए पनि तिर्नुपर्ने भएकाले खासै नाफामा नभएको उनको भनाइ छ ।

‘प्लेन चलेकै छैन नाफामूलक भन्न सकिँदैन । अप्रेसनको खर्च यात्रु आए पनि नआए पनि उति नै हो,’ उनले भने । उनले कोभिडपछि विश्व बजारको अर्थतन्त्र संकट ग्रस्त भएकाले पर्यटक नहुँदा उडान हुन नसकेको बताए ।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भने गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल नाफामा रहेको दाबी गरेका छन् । उनले विमानस्थलले वार्षिक ५० करोड रुपैयाँ आय गर्ने अनुमान गरिएको जानकारी दिए । हाल विमानस्थलले वार्षिक २० करोड रुपैयाँ आय गरिरहेको उनको दाबी छ ।

उनका अनुसार विमानस्थल भित्र सञ्चालनका क्रममा सरसफाई, बिजुली, पानी लगायतमा वार्षिक डेढ करोड रुपैयाँ हाराहारी खर्च हुँदै आएको छ । कर्मचारी खर्च दरबन्दी नबढाइएका कारण धेरै नरहेको उनले बताए । कर्मचारी खर्च भने केन्द्रबाटै भुक्तानी हुने भएकाले जानकारी नरहेको उनले बताए ।

निगमले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने

नेपाल वायु सेवा निगमले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरू गर्ने भएको छ । यही मे महिनाको तेस्रो साता अर्थात नेपाली जेठको पहिलो साताबाट उडान गर्ने तयारी गरिरहेको निरौलाले बताए ।

नेपाल वायु सेवा निगमले मलेसिया र बेलजियम उडान गर्ने गरी प्रकृया अगाडि बढाएको उनले जानकारी दिए ।

 

पुरानै लयमा फर्कँदै पर्यटन, प्रमुख पर्यटकीय गन्तव्य भरिभराउ Read Previous

पुरानै लयमा फर्कँदै पर्यटन, प्रमुख पर्यटकीय गन्तव्य भरिभराउ

अर्थतन्त्र अझै जोखिममा रहेको भन्दै नीतिगत सावधानी अपनाउन आइएमएफको सुझाव Read Next

अर्थतन्त्र अझै जोखिममा रहेको भन्दै नीतिगत सावधानी अपनाउन आइएमएफको सुझाव