अर्थतन्त्रको बाह्य क्षेत्रमा लगातार सुधार, यस्ताे छ अवस्था

काठमाडौं । अर्थतन्त्रमा बाह्य क्षेत्रको दबाब कम हुँदै गएको छ । असोज यता लगातार अर्थतन्त्रका बाह्य सूचकमा सुधार आएसँगै बाह्य दबाब कम हुँदै गएको हो ।

पछिल्लो समय अर्थतन्त्रको आन्तरिक क्षेत्रहरु संकटमा रहे पनि बाह्य क्षेत्र लगातार सुधारोन्मुख भइरहेको छ । चालु आवको असोज यता विदेशी मुद्रा संचिति, रेमिट्यान्स आप्रवाह, शोधान्तर स्थिति, चालु खाता, व्यापार घाटा लगायतमा लगातार सुधार आइरहेको छ ।

बुधबार नेपाल राष्ट्र बैंककले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिना (साउन चैत) सम्मको अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो ।

गत वर्ष डलर संचित घट्दै जाँदा आम मानिसमा नेपाल पनि श्रीलंका जस्तै बन्ने हल्ला समेत फैलिएको थियो । त्यसयता सरकार र राष्ट्र बैंकको आयात कडाइले अहिले विदेशी मुद्रा संचिति डेढ वर्ष यताकै धेरै अवस्थामा पुगेको छ ।

यद्यपि, अर्थतन्त्रका अधिकांश सूचकमा सुधार देखिए पनि मूल्य वृद्धि भने सरकारको नियन्त्रण बाहिरै रहेको छ । यसले आम नागरिको दैनिक जीविनयापन कष्टकर बनाइरहेको छ ।

रेमिट्यान्स आप्रवाह चालु वर्षकै उच्च

चैत महिनामा चालु वर्षकै सबैभन्दा धेरै रेमिट्यान्स आप्रवाह भएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले वृद्धि भई ९०३ अर्ब ३९ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले घटेको थियो ।

यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१.५ प्रतिशतले वृद्धि भई ३ लाख ८७ हजार ८३९ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ५.५ प्रतिशतले वृद्धि भई २ लाख १७ हजार ९५९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १९९.९ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २२.८ प्रतिशतले वृद्धि भई ९९६ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ०.४ प्रतिशतले घटेको थियो ।

चालु खाता र शोधनान्तर स्थितिमा सुधार

चालु खाता एवम् शोधनान्तर स्थितिको दबाब पनि कम हुँदै गएको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा चालु खाता ५१ अर्ब ८२ करोडले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५१० अर्ब ५८ करोडले घाटामा रहेको थियो ।

चैत मसान्तसम्ममा शोधनान्तर स्थिति १८० अर्ब १७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २६८ अर्ब २६ करोडले घाटामा रहेको थियो ।

विनिमय सञ्चितिको दबाब हट्यो

अघिल्लो वर्ष अर्थतन्त्रको सबैभन्दा ठूलो समस्या बनेको डलर संचिति माथिको दबाब अहिले हटेको छ । चालु वर्षको ९ महिनामा डेढ वर्षयताकै उच्च डलर संचिति पुगेको छ ।

गत असार मसान्तमा १२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १७.९ प्रतिशतले वृद्धि भई चैतमसान्तमा १४३३ अर्ब ७३ करोड पुगेको हो । उक्त संचितिले ११ महिनाको वस्तु र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, अमेरिकी डलर संचिति पनि डेढ वर्ष यताकै धेरै पुगेको छ । चैत मसान्त डलर संचिति १० अर्ब ९४ करोड पुगेको छ ।

मूल्य वृद्धि भने नियन्त्रण बाहिरै

चालु आर्थिक वर्षमा ७ प्रतिशत भित्र राख्ने मूल्यवृद्धिको लक्ष्य लिए पनि अझै सीमा भन्दा बाहिर छ । माग संकूचन र बाह्य क्षेत्रको स्थायित्व कायम गर्न राष्ट्र बैंकले लिएको नीतिका कारण मूल्यवृद्धि उच्च विन्दुमा पुगेको थियो ।

यद्यपी, अघिल्लो महिनाको तुलनामा ओरालो लाग्न थालेको छ । २०७९ चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.७६ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.२८ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.९३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.४२ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकका अनुसार समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १४.६८ प्रतिशत, मरमसलाको १४.६७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.७२ प्रतिशत, फलफूलको ११ प्रतिशत र सुर्तीजन्य पदार्थको १०.८३ प्रतिशतले बढेको छ ।

गैर–खाद्य तथा सेवा समूह अन्तर्गत स्वास्थ्य उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १०.३९ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ९.५४ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको ८.८१ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरुको ८.७४ प्रतिशत र शिक्षाको ८.६७ प्रतिशतले
बढेको छ ।

 

डलर संचिति डेढ वर्ष यताकै धेरै, कति डलर छ राष्ट्रिय ढिकुटीमा ? Read Previous

डलर संचिति डेढ वर्ष यताकै धेरै, कति डलर छ राष्ट्रिय ढिकुटीमा ?

काठमाडौं उपत्यकामा सबैभन्दा धेरै महँगी Read Next

काठमाडौं उपत्यकामा सबैभन्दा धेरै महँगी