डलर संचिति डेढ वर्ष यताकै धेरै, कति डलर छ राष्ट्रिय ढिकुटीमा ?

काठमाडौं । अमेरिकी डलरमा लगातार सुधार आएको छ । सरकारले पुसदेखि आयात खुलाए पनि त्यसका बाबजूद डलर संचितिमा लगातार सुधार आएको हो ।

चालु आर्थिक वर्ष सुरु भए यता लगातार ओरालो लागेको डलर संचिति असोजदेखि भने लगातार बढ्दो क्रममा रहेको हो । रेमिट्यान्स आप्रवाहमा वृद्धि, पर्यटकको आवगमन बढ्नु र विदेशी वस्तुको आयात घट्दा डलर संचितिमा सुधार आएको हो ।

पछिल्लो एक महिना मात्रै राष्ट्रिय ढुकुटीबाट २५ करोड डलर थपिएको । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको नवौं महिना (चैत)को तथ्यांक अनुसार फागुनको तुलनामा चैतमा डलर संचिति २५ करोडले बढेको हो ।

फागुन मसान्तसम्म कुल डलर संचिति १० अर्ब ६९ करोड रहेकोमा चैत मसान्त आइपुग्दा २५ करोडले बढेर १० अर्ब ९४ करोड पुगेको छ । यो पछिल्लो डेढ वर्ष यताकै धेरै हो । यसअघि सन् २०२१ को अक्टोबरमा १० अर्ब ९८ करोड डलर संचिति थियो ।

डलर संचितिमा सुधार आएको यो लगातार छैटौं महिना हो । २०७९ असार मसान्तसम्म राष्ट्रिय ढुकुटीमा ९ अर्ब ५४ करोड डलर संचिति थियो । राष्ट्रिय ढुकुटीमा असोजमा १३ करोड, कात्तिकमा १५ करोड, मंसिरमा १९ करोड, पुसमा ४८ करोड, माघमा २० करोड र फागुनमा १९ करोड डलर थपिएको थियो ।

यस्तै, समग्र विदेशी मुद्रा संचितिमा पनि सुधार आएको छ । २०७९ असार मसान्तमा रु.१२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १७.९ प्रतिशतले वृद्धि भई २०७९ चैत मसान्तमा रु.१४३३ अर्ब ७३ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा रु.१०५६ अर्ब ३९ करोड रहेकोमा २०७९ फागुन मसान्तमा १७.८ प्रतिशतले वृद्धि भई रु.१२४४ अर्ब ९४ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा रु.१५९ अर्ब ४१ करोड रहेकोमा २०७९ फागुन मसान्तमा २.० प्रतिशतले कमी आई रु.१५६ अर्ब २७
करोड कायम भएको छ । २०७९ फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.९ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७९/८० को नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.० महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

आगामी बजेटका लागि स्रोत जुटाउन निकै सकसपूर्ण छ : अर्थमन्त्री Read Previous

आगामी बजेटका लागि स्रोत जुटाउन निकै सकसपूर्ण छ : अर्थमन्त्री

अर्थतन्त्रको बाह्य क्षेत्रमा लगातार सुधार, यस्ताे छ अवस्था Read Next

अर्थतन्त्रको बाह्य क्षेत्रमा लगातार सुधार, यस्ताे छ अवस्था